ई–आर्थिक, काठमाडौं । मंगलबार दिउसो एपेन्डिसाइटिसको शल्यक्रिया गराउनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अबस्था स्थिर रहेको छ । अस्पतालले बेलुकी ७.३० बजे सार्बजनिक गरेको पछिल्लो स्वास्थ्य अपडेटमा प्रधानमन्त्रीको अबस्था स्थिर रहेको जानकारी दिइएको हो । उहाँलाई आइसीयुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
उहाँ अझै केही दिन अस्पतालमै रहने चिकित्सकले बताएका छन् । दुई दिनअघि मात्र मृगौलाको चौथो डायलासिस गराएर फर्कनु भएको प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान त्रि.बि. शिक्षण अस्पताल महाराजगन्ज भर्ना हुनुभएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतको टोली संलग्न रहेको छ । त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियुमा उपचारत प्रधामन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा अध्यक्ष प्रचण्ड, उप्रधानमन्त्री तथा रक्षा मन्त्री पोखरेल अस्पताल पुग्नुभएको थियो ।
त्यसैगरी गृहमन्त्री राम बहादुर थापा, सञ्चार मन्त्री गोकुल बास्कोटा ,उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, शिक्षा मन्त्री गिरीराजमणि पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल लगायत मन्त्री तथा पार्टीका नेताहरु पनि अस्पताल पुगेर उहाँको स्वास्थ्य अबस्थाबारे जानकारी लिनुभएको थियो । तर भेट्न भने कसैलाई दिइएको छैन ।
प्रधानमन्त्री ओली मिर्गौलाको बिरामी समेत भएकाले संक्रमणको खतरा हुने हुँदा कसैलाई पनि भेट्न नदिइएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । भेट्न नपाए पनि मन्त्री तथा नेताहरुले प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्था बुझेर फर्किरहेका छन् । ‘प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न मन्त्री, पार्टीका नेताहरु अस्पतालमै आउनुभएको बताउँदै सबै शुभचिन्तकहरुलाई आफ्आफ्नो ठाउँमा रहेर नै स्वास्थ्य लाभको कामना गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा हिजो साँझदेखि समस्या आएको थियो । उनका निजी चिकित्सकले हिजो नै अस्पताल भर्ना हुन आग्रह गरे पनि प्रधानमन्त्री ओलीले मान्नुभएको थिएन। आज बिहान स्वास्थ्य अवस्था झन विग्रिएपछि उहाँलाई अस्पताल लगिएको थियो ।