ई–आर्थिक, काठमाडौं । चिनियाँ राजदूत होऊ याङछीले चिनियाँ कामदारले ब्योहोरिरहेका भिसाको समस्या, लगानीकर्ताका नीतिगत समस्या र विजुलीको दररेटजस्ता समस्या समाधानमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले खेलेको भुमिकाको प्रशंसा गरेकी छिन । आइतबार मन्त्रालयमै भएको मन्त्री पुनसंगको भेटबार्तामा चिनियाँ राजदूत याङछीले यस्तो प्रसंसा गरेकी हुन ।
सो अबसरमा राजदुत याङ्छीले नेपालमा चीनले उर्जा क्षेत्रमा सहकार्यका लागी इच्छुक रहेको पनि बताईन्। उनले उर्जा संयन्त्रको बैठकका लागी आफुले पहल थालिसकेको पनि जानकारी गराउँदै बैठकको मिति चाँडै टुंगो लगाउने बताइन । द्धिपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा पनि छलफल भएको थियो ।
सो अबसरमा मन्त्री पुनले ६० मेगावाट क्षमता भएको माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनामा चीन सरकारले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे। उर्जामन्त्री पुनले गत महिना भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भ्रमणमा भएको नेपाल–चीनबीच एक वर्षभित्र उर्जा र जलविद्युतको क्षेत्रमा सहकार्यको योजना बनाएर कार्यान्वयन गर्ने समझदारी को पनि स्वागत गरे ।
उनले नेपाल चीनबीचको उर्जा संयन्त्रको पहिलो बैठक सम्पन्न भइसकेको बताउँदै दुवै देशबीच भएका समझदारीलाई अघि बढाउन संयन्त्रको दोस्रो बैठक छिट्टै हुने बताए। चिनियाँ राष्ट्रपतिकै नेपाल भ्रमणमा सम्झौता भएको तमोर र माडी जलविद्युत आयोजनाको काम अघि बढिरहेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने उनले जानकारी दिए। मन्त्री पुनले सुनकोशी मरिन डाइभर्सन परियोजनामा चिनियाँ ऋण सहयोगका लागी अर्थमन्त्रालयमार्फत प्रक्रिया सुरु भएको भन्दै त्यसलाई छिटो अघि बढाइदिन चिनियाँ राजदूतको ध्यानाकर्षण गराए।