ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बुधबार गरेको मन्त्रिपरिषद पुनर्गठनबाट चर्चित मन्त्री गोकर्ण विष्ट पनि बाहिरिए । विष्ट वाहिरिए पछि उनले सम्हालेको श्रम तथा रोगजार मन्त्रालयको जिम्मवोरी पूर्वमाओवादीबाट रामेश्वर राय यादवले पाएका छन् ।
पहिलो पटक उर्जा मन्त्री बन्दा विष्टले गरेको राम्रो काम गरेको र उनको चौतर्फी प्रशंसा भएको थियो । यो पटक पनि विष्टबाट त्यस्तै अपेक्षा गरिएको थियो । उनले शून्य लागतमा मलेशिया, जापान र यूएईमा नेपाली कामदार पठाउने देखि सामाजिक सुरक्षा कोषको घोषणा गरेका थिए, जसलाई सरकारले ठूलो उपलब्धिका रुपमा घोषणा गरेको थियो।
प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेका मन्त्री विष्टले नै गरेका थिए। जसलाई सरकारले ऐतिहासिक उपलब्धि बताएको थियो । तर बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्दा ती ऐतिहासिक काम गर्ने मन्त्री विष्ट भने वाहिरिएका छन् । जाँदा जाँदै निवर्तमान मन्त्री विष्टले सामाजिक संजाल फेसबुकमा निकै भावुक र मार्किक स्टाटस लेखे र छाडेका छन् ।
उनले आफूले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिक र बेरोजगार युवाको पक्षमा इमान्दारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको उल्लेख गरेका छन्।
उनले थप उर्जा र प्रेरणाका साथ मन्त्रीबाट बाहिरिएको उल्लेख गर्दै लेखेका छन्–मन्त्रीका रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु। सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ, दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद।’
बिष्टको भावुक फेसबुक पेजमा सन्देशको चौतर्फी प्रशंसा गरिएको छ । उक्त सन्देशको ६ हजार ८ सय भन्दा बढीले लाईक गरेका थिए भने १५ सय भन्दा बढीले उनकै समर्थनमा कमेन्टहरु गरेका थिए । त्यस्तै ९ सयको हाराहारीले उनको सन्देश सेयर गरिएको थियो ।