ई–आर्थिक, काठमाडौं । बिकासप्रति जनचासो बढ्दै जाँदा पछिल्लो पटक नागरिकहरु आफैले चुनेका जनप्रतिनिधिबिरुद्ध पनि सार्बजनिक दबाब सिर्जना गर्न थालेका छन् । ठेकेदाबाट सुरु भएको जनदबाब जनप्रतिनिधितिर पनि लक्षित हुन थालेको छ । यसै क्रममा सडक निर्माणमा चासो नदिएको भन्दै विराटनगर ६ का स्थानीयबासीले विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको तस्वीर बिजुलीको पोलमा टाँगेका छन् । ढल विच्छयाउनका लागि भत्काएको सडक लामो समयसम्म पनि नबनेपछि स्थानीयले मेयर लाई बिकासमा चासो नदिने संज्ञा दिदै उनको तस्वीर पोलपोलमा टाँगेका हुन् ।
स्थानीयले मंगलबार बिहान कोशी राजमार्गबाट शिवमन्दिर चोक हुँदै पश्चिम तर्फ जाने बाटोका विजुलीको पोलहरुमा मेयरको तस्वीर राखेर ‘हाम्रो विराटनगर राम्रो विराटनगर’ लेखिएको पोष्टर टाँगेका छन् ।
दुई वर्षमा बनिसक्नुपर्ने नगरकोट सडक साढे सात वर्षमा पनि नबनेपछि स्थानीयबासीले ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारीको फोटो सार्वजनिक स्थानमा टाँसेर विरोध गरेका थिए ।
काठमाडौंमा ठेकेदारको फोटो राखेर विरोध गरेको केही दिनपछि विराटनगरमा मेयरको फोटो टाँसेर विरोध गरेको स्थानीयले बताए ।
विराटनगरमा क्षेत्रीय सहरी विकास परियोजना सञ्चालित छ । दुई वर्ष अघि सुरु भएको क्षेत्रिय सहरी विकास आयोजनाको ८० प्रतिशत भौतिक काम पूरा भएको आयोजनाले जनाएको छ । आयोजनाले कालोपत्रे ५३ प्रतिशत, ढलको काम ८८ प्रतिशत र सडक नाला निर्माणको काम सबै पुरा भएको आयोजना प्रमुख भरत न्यौपानेले जानकारी दिए ।