ई–आर्थिक, काठमाडौं । हाउजिङ्ग ठगी आरोपमा पक्राउ परेका उद्योगी डा. रूप ज्योती र उनकी छोरी सुरुचीलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।
डा. रूप ज्योतीका कानुन व्यवसायीहरुले भने साधारण तारेखमा छाड्न गरेको गरेका थिए । उक्त मागलाई अस्वीकृत गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले ज्योती बाबुछोरी माथि अनुसन्धान गर्न भन्दै प्रहरीलाई थप ५ दिनको म्याद दिएको हो ।
प्रहरीले ज्योतीमाथि अनुसन्धान गर्न ७ दिनको समयमा २ दिन घटाएर ५ दिन थपको म्याद दिएको थियो ।
न्यायधिशसँग ज्योतिले आफूलाई विमानास्थलबाट प्रकाउ गरेर ठूलो अन्याय गरेको बताएका छन् । आफू पक्राउ परेको अनविज्ञता प्रकट गर्दै ज्योतिले आफू र आफ्नो परिवारलाई फसाउन ठूलो षड्यन्त्र भइरहेको बताए ।
नेपालको प्रतिष्ठित औद्योगिक घरानाको रुपमा चिनिने ज्योती समूहका उपाध्यक्ष ज्योति पक्राउले निजीक्षेत्र आश्चर्यमा परेका छ । उनी पूर्व राजा ज्ञानेन्द्रको शासनकालका पूर्वअर्थ राज्यमन्त्री समेत रहेका थिए । ज्योती र उनकी छोरी सुरुचीलाई विमानस्थलबाट उनलाई महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको थियो ।
ल्यान्डमार्क हाउजिङका नाममा उनले ठगी गरेको आरोपमा छ । सो हाउजिङका नाममा विभिन्न व्यक्तिसँग रकम ठगी गरेको मुद्दा उनलाई लागेको थियो । सोही मुद्दामा सर्वोच्चले जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेपछि उनलाई पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छोरी सुरुची सहित उनलाई पक्राउ गरिएको थियो ।