ई–आर्थिक, जनकपुर : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता रामचन्द्र झा जनकपुरमा पुगेर आफ्नै पार्टीको मन्त्रीको भण्डाफोर गरेका छन् । नेता झाले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ भ्रष्ट्राचारको कसुरमा छिटै जेल जाने दावी गरेका छन् ।
‘सम्पत्ति शुद्धिकरणमा मन्त्री महासेठले गरेको भ्रष्टाचारको जालोको पर्दाफास हुने उनको भनाई छ । धनुषाको महेन्द्रनगरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन ।
ठुलाबडा समेत जेलमा रहेकाले महासेठ जादैनन् भनेर दम्भ देखाउनु गलत भएको उनले बताए । नेता झाले मन्त्री महासेठ छिट्टै जेल जीवन बिताउनु पर्ने दाबी गरे ।
नेकपा नेता रामचन्द्र झाले मन्त्री महासेठका कारण सरकार बदनाम भएको भन्दै चिन्ता समेत व्यक्त गरे । अहिलेको सरकारले राम्रो काम गरेपनि मन्त्री महासेठले विकास निर्माणको काममा राम्रो नगरेको दाबी नेता झाको छ । मन्त्रालय अन्तर्गत निर्माण भएका संरचनाहरु तुरुन्तै भत्किन थालेकाले सरकारको चौतर्फी आलोचना हुन थालेको उनले बताए।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले नेकपामा पुँजीवादी र अपराधिकरण बढेको बताएका छन् । संगठन विधि र विधानलाई बेवास्ता गर्दै मन्त्री र पहुँचवाला नेताहरु सत्ता, शक्तिको दुरुपयोग गरी धन आर्जनतर्फ लागेको मन्त्री यादवले पनि आरोप लगाए ।
‘काम गरेर कम्युनिस्ट बनौं, नामको लागि मात्र होइन, त्यसैले काम गरेर कम्युनिस्ट बन्नुपर्छ र जनताको लागि लडाई लड्नुपर्छ, अनि मात्र कम्युनिष्ठ भइन्छ’, उनले भने।
अध्यक्ष प्रचण्डले कहिलेकाहीँ ओली सरकार भन्दै गर्ने टिप्पणीमाथि पनि मन्त्री यादवले आपत्ति जनाए। ‘अध्यक्ष प्रचण्डले ओली सरकार भनेको सुन्दा अचम्म लाग्छ, सरकार नेकपा हो कि ओलीको ?’, उनले प्रश्न गरे ।
केही दिन यता मन्त्री नेतादेखि उच्च नेताले समेत एक अर्काको विरोध गर्दै आएका छन् । यसले नेकपामा व्यापक असन्तुष्टि रहेको देखिएको छ । यसरी आरोप प्रत्यारोप गर्दै बढ्दै गए पार्टी फुटको संघारमा पुग्ने नेकपा निकट एक नेताले बताए ।