ई–आर्थिक, काठमाडौं : के तपाई घर अथवा कुनै पूर्वाधार निर्माण गर्दै हुनुहुन्छ । यदि हो भने निर्माण सामाग्री विक्रेताले तपाईलाई ठगिरहेको पनि हुन सक्छ । पछिल्लो समय निर्माण सामग्री ‘सप्लाई’ गर्ने व्यवसायीले उपभोक्तालाई चरम ठगी गर्दै आएको खुलेको छ । उनीहरुले गाडीमा ढुङ्गा, गिटी, बालुवा वा इँट्टा कम राख्न मिल्ने बनाएर उपभोक्तालाई ठगी गर्दै आएको खुलेको हो ।
सर्वसाधारणहरुलाई निर्माण सामग्री इँट्टा, गिट्टी, बालुवा, चिप्स र ढुङ्गा ढुवानी गर्ने मिनि ट्रकहरुमा परिमाण कम राख्न मिल्ने गरी पाँच इन्चसम्मको फलामे र काठको बक्स बनाइ ठगी गरेको पाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जानकारी दिएको छ । महाशाखा प्रमुख सहकुलबहादुर थापाले जानकारी दिएको जानकारी अनुसार यो पनि एक प्रकारको फल्स बटम बनाएर गरिएको ठगी जस्तै हो ।
काठमाडौँको स्वयम्भू, बालाजु र महाराजगञ्जमा गरिएको खोजी अभियानका क्रममा २३ डिपोका सञ्चालकलाई पक्राउ गरिएको थापाले जानकारी दिए । उनीहरुले त्यसरी प्रयोग गरिएको ३५ मिनि ट्रकलाई रङ्गेहात नै फेला पारी नियन्त्रणमा लिइएको छ । काठमाडौँ उपत्यकामा भएका अन्य डिपोका सञ्चालकसमेत खोजी भइरहेको उनले बताए ।
पक्राउ पर्ने जयमहालक्ष्मी सप्लायर्सका प्रकाश श्रेष्ठ, बज्र इन्टरप्राइजेज सप्लायर्सका वीरेन्द्र कुँइकेल, शिवशक्ति सप्लायर्सका अर्जुन भुजेल, गरिमा सप्लायर्सका दीपेन्द्र केसी, कामना इन्टरप्राइजेजका बद्री गिरी, जेबिएस सप्लायर्सका बाघे भन्ने सुकबहादुर लामा, शुभकामना सप्लायर्सका सुरेन्द्र केसी, खाँडादेवी निर्माण सप्लायर्सका प्रकाश भण्डारी, सेतीदेवी सप्लायर्सका राजु थापा र पञ्चेश्वर सप्लायर्सका महेश्वर श्रेष्ठ रहेका छन् ।
त्यसैगरी धनेश्वर सप्लायर्सका सन्तोष कुँवर, श्रीभूमि सप्लायर्सका श्यामबहादुर मगर, नो नेम सप्लायर्सका पुष्कर थापा, श्रीकाली भैरव सप्लायर्सका वुद्धिराज थापामगर, कुण्डला सप्लायर्सका मदन प्रधान, कालिका सप्लायर्सका तोपनारायण श्रेष्ठ, आर्कष सप्लायर्सका अर्जुन श्रेष्ठ, स्वयम्भू सप्लायर्सका कृष्णहरि नगरकोटी, महालक्ष्मी सप्लायर्सका मनोहर श्रेष्ठ, भ्याली क्वालिटी सप्लायर्सका विजय भन्ने जोगबहादुर तामाङ, गोरखाली सप्लायर्सका गोपाल भण्डारी, विज्ञान सप्लायर्सका सिंहबहादुर तामाङ र नवअरुण सप्लायर्सका रामकृष्ण श्रेष्ठ पनि पक्राउ परेका छन् ।
निर्माण सामाग्रीका उपभोक्ताहरु आफू ठगिएको गुनासो गरे पछि प्रहरीले संभावित ठाउँहरुमा अपरेशन गरेको थियो । महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले ती सञ्चालकहरु समेत गरी लोड गरी ढुवानी गर्न तयारी अवस्थामा रहेका सामग्रीसहित सवारीसाधन समेत नियन्त्रणमा लिएको थियो ।
ग्राहकहरुलाई १०० क्यूफिट ढुवानी भनि बिक्री गर्दा जम्मा ८२ दशमलब ६३ क्यूफिट मात्र सामग्री ढुवानी हुने गरेको र प्रति ढुवानीमा एक हजार ६२० रुपैयाँदेखि दुई हजार २०० रुपैयाँसम्म ग्राहकहरुलाई नोक्सानी हुने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । त्यस्तै एक टिप इँट्टामा झण्डै २०० इँट्टा कम हुने देखिएको प्रहरीले जानकारी दिएको छ । एकै टिपमा यति धेरै ठगी छ भने एउटा घर बनाउँदा उपभोक्ताको ठूलो रकम ठगिएको हुन सक्ने अनुमान प्रहरीको छ ।
केही उजुरी प्राप्त भएको र बाँकी रहेका पीडित सर्वसाधारणलाई पनि जाहेरी दिन महाशाखाका प्रमुख थापाले आग्रह गरे । उनीहरुलाई ठगी मुद्दा चलाउने तयारी प्रहरीले जानकारी दिएको छ । उक्त मुद्दामा दोषी ठहर भए पाँच वर्ष जेल र बिगो बराबरको जरिवाना हुने कानूनी व्यवस्था छ । यस्तो ठगी अन्य जिल्लामा पनि हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले यस्ता ठगीलाई नियन्त्रण गर्न कारवाही अभियान देशव्यापी बनाउने जानकारी दिएको छ ।