ई–आर्थिक, काठमाडौं । नेपाल टेलिकमले देशव्यापी रुपमा नयाँ प्रविधिको फोरजी÷एलटीई सेवाको सफ्ट लन्च गरेको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्सिङमार्फत कुराकानी गरेर सो सेवाको शुभारम्भ गरेका थिए ।
प्रधानमन्त्री ओलीले देशव्यापी रुपमा फोरजी÷एलटीई सेवाको शुरुवातसँगै नेपालले डिजिटल अर्थतन्त्र निर्माणको युगमा फड्को मारेको र अब देशको अर्थतन्त्रलाई छिटो, पारदर्शी र नयाँ ढंगले अघि बढाउन नयाँ प्रविधिले सघाउ पु¥याउने बताए ।
सो अवसरमा उहाँले विकास र उत्पादनका काममा प्रविधिको प्रयोगलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै फोरजी एलटीईको विस्तार यसैको सफल प्रयोग भएको बताए । उहाँले नेपाल टेलिकम सरकारी लगानी भएको जनताको संस्था भएको उल्लेख गरे । ‘पूर्वनिर्धारित योजनाहरु समयमै नसक्नु जनतालाई सेवाबाट वञ्चित गर्नु हो र विकासलाई पछि पार्नु हो । त्यसैले ढिलासुस्ती कुनै पनि शर्तमा स्वीकार्य हुँदैन ।’ उनले भने– ‘टेलिकमका अप्टिकल फाइबर तथा एफटीटीएच योजनाले यो कार्य पूर्वनिर्धारित समयमा जसरी पनि सम्पन्न गर्नुपर्छ ।
सोही समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकम लामो समयदेखि जनताको जीवनयापनको पद्धतिका रुपमा अघि बढिरहेको बताए । कम्पनीमा सञ्चालित ९ वटा ठूला परियोजना मध्ये फोरजी÷एलटीई सेवाको विस्तार पहिलो सफलताको पाइला भएको उनको भनाई थियो । जहाँ जनता त्यहाँ नेपाल टेलिकम भन्ने हाम्रो अवधारणा सुनाए । फोरजी/एलटीई मोबाइल सेवाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन मद्दत गर्ने उल्लेख गर्दै यो पूर्व निर्धारित १ वर्षको समयावधिमा सम्पन्न हुने उनले बताए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनीको सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले नेपाल टेलिकमले विस्तार गरेको फोरजी/एलटीईले अर्थपुर्ण रुपले मानिसलाई जोड्ने बताए । यो सेवाको प्रयोगले नेपाली जनतालाई आर्थिक समृद्धि प्राप्त गर्न सहज हुने उल्लेख गरे । डिजिटल पेमेन्ट प्रणालीको लागि पनि सहायक कम्पनी स्थापना तथा सेवा सञ्चालनको लागि कार्य भइरहेको र सो सेवाको सञ्चालनमा पनि फोरजी विस्तारले मद्दत पु¥याउने उनले बताए ।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सरकारले प्राथमिकतामा राखेको फोरजी÷एलटीई मोबाइल सेवाको विस्तारबाट मुलुकलाई डिजिटलाइज्ड गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउँदै उत्पादन, अर्थतन्त्र, वितरणदेखि सूचना र ज्ञानको विस्तारमा यसले चमत्कारिक गतिशीलता ल्याउने विश्वास व्यक्त गरे । सो अवसरमा कम्पनीका अन्य योजनाहरु पनि पूर्व निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता समेत उनले बताए ।
कम्पनीका विभिन्न सात प्रदेशमा रहेका मूख्य कार्यालयहरुबाट समेत विशेष समारोहका बीच एकै पटक सो सेवाको शुभारम्भ गरिएको छ ।
नेपाल टेलिकमको फोरजी सेवा सम्बन्धी संक्षिप्त जानकारी
१. सम्झौता : २०७५ माघ
२. जम्मा सम्झौता संख्या : ३ (कोर उपकरण – १, रेडियो नेटवर्क उपकरण – २)
३. हाल सम्म (आजको अपडेट अनुसार) सेवा पुगेको जिल्ला : ३७ (सातै वटा प्रदेशमा गरी जम्मा)
४. हाल सम्म सेवा पुगेको शहर : करिव ६०
५. प्रयोग भएको फ्रिक्वेन्सी ब्यान्ड : ८०० मेगाहर्ज र १८०० मेगाहर्ज (सेवा विस्तारसँगै २३०० मेगाहर्जमा पनि सञ्चालन हुँदै जाने)
६. प्रविधिको प्रचलित नाम : LTE Advanced (4.5G) यस अन्तर्गतका Carrier Aggregation लगायतका परिस्कृत प्रविधि प्रयोग गरी साबिकमा चलेको फोरजी भन्दा निकै बढी डाटा स्पिड प्राप्त हुने ।
७. परीक्षणको क्रममा हासिल भएको अधिकतम डाटा स्पिड : २४७ एमबीपीएस
८. औसत डाटा स्पिड : १३० एमबीपीएस
९. सन् २०१६ मा प्रकाशित विश्व विकास प्रतिवेदनले ब्रोडब्यान्ड सेवाको १० प्रतिशत विस्तारले विकासशील देशको कूल गार्हस्थ उत्पादनमा १.३८ प्रतिशत वृद्धि हुने देखाएको सन्दर्भमा नेपाल टेलिकमको एलटिई मोबाइल ब्रोडब्यान्डको देशव्यापी विस्तारले देशको आर्थिक विकासमा पनि महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गर्न सकिने ।
१०. हाल दुई शहरमा चलेको साबिकको फोरजी सेवामा कुल ८ लाख भन्दा बढी ग्राहक रहेकोमा देशव्यापी बिस्तार पश्चात् सो संख्यामा उल्लेख्य वृद्धि हुने ।
नेपाल टेलिकमद्वारा सञ्चालनमा ल्याइएको फोरजी एलटीई मोबाइल सेवा नेपालमा पहिलो पटक शुभारम्भ भएको अत्यन्त तीब्र गतिको वायरलेस प्रविधि LTE Advanced -LTE-A हो । नेपाल सरकारद्वारा पहिचान गरिएका रुपान्तरणकारी आयोजनाहरु (Game Changer Projects) मध्ये नेपाल टेलिकमको यो आयोजना पनि एउटा रहेको छ ।
मुलुकमा डिजिटलाइज्ड Life Style / Smart Society को लागि पूर्वाधार तयार पार्नका लागि यो आयोजनाले महत्वपूर्ण पूर्वाधार खडा गर्नेछ । जस अनुसार मुलुकको आर्थिक विकास, आम जनताको जीवनस्तरको सुधार, Digital devide न्यूनीकरण हुनेछ ।
यो फोरजी एलटीई आयोजना विद्यमान फोरजी सेवाको स्तरोन्नती मात्र नभई हालसम्म सेवा उपलब्ध नभएका स्थानमा पनि दीर्घकालीन पूर्वाधारको विकास र विस्तार गर्ने तथा मुलुकका सम्पूर्ण भूभागहरु र जनतालाई अत्याधुनिक दुरसञ्चार सेवाबाट सुसज्जित गर्ने योजना पनि हो ।
नेपाल टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखरामा सुरु गरेको 4G/LTE सेवालाई अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ ।
मोवाइल इन्टरनेटको क्षेत्रमा Long Term Evolution भनिने 4G प्रविधि मोबाइलमार्फत उच्च गतिको इन्टरनेट साथै उच्च गुणस्तरको भ्वाइस कल सेवा (VoLTE) पनि उपयोग गर्न सकिने अत्याधुनिक प्रबिधि हो । 4G बाट प्राप्त हुने इन्टरनेटको स्पिड उच्च हुने हुँदा गुणस्तरीय श्रब्य–दृष्य सामाग्रीहरु, गेम लगायत बढी ब्याण्डविथ आवश्यक हुने इन्टरनेट सामग्रीहरु सजिलै हेर्न तथा सुन्न सकिन्छ । साथै नेपाल टेलिकमको 4G मा VoLTE पनि रहेकोले यसबाट उच्च गुणस्तरीय भ्वाइस कल सेवा प्रयोग गर्न सकिन्छ ।
नेपाल टेलिकमले यस अघि काठमाडौं उपत्यका र पोखरामा 4G सेवा उपलब्ध गराउँदै आएकोमा अब सातै प्रदेशका मूख्य मूख्य शहरहरुमा पछिल्लो पुस्ताको 4G/LTE सेवा उपलब्ध भएको छ । यसका साथै 4G/LTE सेवा देशका अन्य स्थानमा बिस्तार गर्न द्रुत गतिमा काम भइरहेको छ ।
नेपाल टेलिकमको 4G/LTE सेवा प्रयोग गर्न मोबाइल फोन सेट र सिम कार्ड 4G/LTE सेवा चल्ने (Support गर्ने) हुनु पर्दछ र 4G/LTE नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी छ । 4G/LTE सेवा सुचारु गर्न कुनै शुल्क लाग्दैन, निःशुल्क सुचारु गर्न सकिन्छ । आफ्नो मोबाइल फोनवाट *444# डायल गरी प्राप्त निर्देशन अनुरुप 4G/LTE प्रयोग गर्न सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन र 4G एक्टिभेट गरी सेवा सुचारु समेत गर्न सकिन्छ । यदि हाल प्रयोग गरिरहेको सिमकार्डले 4G/LTE सपोर्ट नगर्ने भएमा नेपाल टेलिकमका देशभरका ग्राहक सेवा केन्द्रहरुबाट पुरानो सिमको सट्टा 4G/LTE चल्ने नयाँ सिमकार्ड (U-SIM) निशुल्क प्राप्त गर्न सकिन्छ ।
4G/LTE सेवाको लागि छुट्टै महसुल दर तोकिएको छैन, 3G/2G सेवाको दरमा नै प्रयोग गर्न सकिन्छ । अझ सस्तो प्याकेजहरुको लागि *1415# डायल गरी रोजेको प्याक लिन सकिन्छ ।
आजको अपडेट अनुसार नेपाल टेलिकमको फोरजी एलटीई मोबाइल सेवा सञ्चालन भएका जिल्लाहरु र शहरहरु ः
फोरजी एलटीई मोबाइल सेवा सञ्चालन भएका जिल्लाहरु :
१. धनकुटा २. झापा ३. मोरङ ४. सुनसरी ५. बारा ६. चितवन ७. धादिङ ८. धनुषा ९. दोलखा १०. काभ्रेपलाञ्चोक ११. महोत्तरी १२. मकवानपुर १३. नुवाकोट १४. पर्सा १५. रामेछाप १६. रसुवा १७. रौतहट १८. सर्लाही, १९. सिन्धुली, २०. बागलुङ २१. कपिलवस्तु २२. म्याग्दी २३. नवलपरासी २४. पाल्पा २५. पर्वत २६. रुपन्देही २७. बाँके २८. बर्दिया २९. दाङ ३०. सुर्खेत ३१. कैलाली ३२. कञ्चनपुर ३३. तनहुँ ३४. मुस्ताङ ३५ लमजुङ ३६. सप्तरी ३७. सिराहा
शहर सूची
१. भीमदत्त २. झलारी पिप्लाडी ३.अत्तरिया ४. धनगढी ५. चौमाला ६. मसुरिया ७. सुख्खड ८. लम्की ९. टिकापुर १०. सुर्खेत ११. गुलरिया १२. कोहलपुर १३. नेपालगञ्ज १४. घोराही १५. लमही १६. तुलसीपुर १७. बेनी १८. कुस्मा १९. बागलुङ्ग २०. तानसेन २१. लुम्बिनी २२. भैरहवा २३. मङ्गलापुर २४. बुटवल २५. मुर्गिया २६. सुनवल २७. देवदह २८. परासी २९. बर्दघाट ३०. भरतपुर ३१. टाँडी ३२. सौराहा ३३ धादिङ्ग ३४. बिदुर ३५. धुन्चे ३६. बनेपा ३७. धुलिखेल ३८. पनौती ३९. हेटौंडा ४०. सिमरा ४१. वीरगञ्ज ४२. कलैया ४३. चरिकोट ४४. मन्थली ४५. सिन्धुलीमाडी ४६. गौर ४७. मलङ्गवा ४८. जलेश्वर ४९.जनकपुर ५०. धनकुटा ५१. धरान ५२. इटहरी ५३. इनरुवा ५४. विराटनगर ५५. दमक ५६. विर्तामोड ५७.चन्द्रगढी ५८. बेशीसहर ५९. भारदह ६०. बस्तिपुर