नागरिक उड्डयन प्राधिकरणका अनुसार आर्थिक वर्ष ०७५/७६ मा ८ वटा विमानस्थल मात्रै नाफामा देखिएका छन् । ‘विमानस्थलको आम्दानी र प्राधिकरणले बेहोर्ने सञ्चालन खर्चका आधारमा गत वर्ष ४१ वटा विमानस्थल घाटामा गए,’ प्राधिकरणको अर्थ विभाग निर्देशक गोविन्द दाहालले भने, ‘सञ्चालन खर्च तथा आम्दानीका आधारलाई मापदण्ड बनाउँदा ८ वटा विमानस्थल मात्रै नाफामा छन् ।’
प्राधिकरणका अध्यक्ष रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भदौ १९ मा स्वीकृत गरेको ०७६/७७ को नीति, बजेट तथा कार्यक्रमअनुसार नाफामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि भैरहवा, नेपालगन्ज, विराटनगर, सिमरा, भरतपुर र धनगढी विमानस्थल छन् । त्यस्तै अत्यधिक पर्यटक आउजाउ गर्ने पोखरा, लुक्ला, जोमसोम र सिमिकोट विमानस्थल पनि नाफामा छन् ।
गत वर्ष सर्वाधिक ८ अर्ब ११ करोड आम्दानी काठमाडौं विमानस्थलले गरेको छ । पोखराले ९ करोड ३९ लाख, विराटनगरले ८ करोड ८० लाख, भैरहवाले ७ करोड ६७ लाख, नेपालगन्जले ७ करोड ५७ लाख, धनगढीले २ करोड ७६ लाख, भरतपुरले २ करोड ३० लाख, लुक्लाले २ करोड, सिमराले १ करोड ८३ लाख र सिमिकोट विमानस्थलले १ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेका छन् ।
विमानस्थलहरूको मुख्य आयस्रोतमा जहाज उडानमा उपलब्ध गराउने सञ्चार तथा उड्डयन सहायक सेवा, अवतरण, पार्किङ, भूमि प्रबन्ध, गृहलगायतका कम्तीमा पनि दुई दर्जन हाराहारी सेवाबाट शुल्क, भाडा, दस्तुर रोयल्टीलगायत पर्छन् । हाल बन्द रहेका विमानस्थलमा दार्चुला, बैतडी, बझाङ, ढोरपाटन, डोटी, जिरी, कांगेलडाँडा, लाङटाङ, महेन्द्रनगर, मनाङ, मसिनेचौर (डोल्पा), पालुङ, रोल्पा, मेघौली, स्याङबोचे र टीकापुर विमानस्थल छन् । प्राधिकरणले हाल ६ वटा आन्तरिक विमानस्थल अर्घाखाँची, गुल्मी, इलाम, कालीकोट, कमलबजार र खिजिचण्डेश्वरी तथा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलमध्ये पोखरा र गौतमबुद्ध–भैरहवा निर्माण भइरहेका छन् भने निजगढ निर्माण हुने प्रक्रियामा छ ।
सञ्चालनमा रहेका ४९ मध्ये ३२ वटा कालोपत्रे धावनमार्ग भएका विमानस्थल हुन् । ४० वर्षपछि बैतडी, बझाङ, डोल्पा मसिनेचौर, डोटी, कालीकोट र लामीडाँडा विमानस्थल कालोपत्रे हुँदै छन् । हाल चालु अवस्थामा रहेका ४९ मध्ये ४१ वटा विमानस्थलमा रात्रि उडान सुविधा छैन । रात्रि उडान गर्न सकिनेमा काठमाडौंबाहेक विराटनगर, चन्द्रगढी, धनगढी, गौतमबुद्ध भैरहवा, नेपालगन्ज र सिमरा मात्रै हुन् ।
कान्तिपुरबाट