२०८३ साउन ९ शनिबार

नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न, एजेन्ट, एजेन्सी मेनेजर गरी १०० पुरस्कृत

ई आर्थिक    बुधबार, भाद्र २५ २०७६
6.2K
Shares
नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न, एजेन्ट, एजेन्सी मेनेजर गरी १०० पुरस्कृत

ई–आर्थिक, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा आयोजना गरेको ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६’ सम्पन्न गरेको छ । कम्पनीले २१ देखि २४ गतेसम्म ४ दिन सञ्चालन भएको उक्त कार्यक्रममा एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालयका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई नगद सहित पुरस्कृत गरेर कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले गरेका थिए ।

बाजागाजाका साथ शुरू गरिएको कार्यक्रममा आगामी दिनका लागि कम्पनीको स्ट्राटेजी निर्माण गरिनुका साथै विभिन्न मोटिभेशन र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ ।

देशभरका एजेन्ट, एजेन्सी म्यानेजर, क्षेत्रीय कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा एजेन्टतर्फ ५० र एजेन्सी म्यानेजरतर्फ ५० जनालाई नगदसहित पुरस्कृत गरेको छ भने उत्कृष्ट कार्यसम्पादन गर्ने आफ्ना कर्मचारीहरूलाई सम्मान गरेको छ ।

कार्यक्रममा एजेन्सी म्यानेजरतर्फको ‘एजेन्सी म्यानेजर अफ इयर’ अवार्ड बिर्तामोड शाखाकी निर्मला खत्रीले प्राप्त गरेकी छिन् । उनले ३ लाख ३३ हजार नगदसहित सम्मान–पत्र पाएकी छिन । त्यस्तै दोस्रो पुरस्कार नयाँ बानेश्वर शाखाकी दुर्गाकुमारी खत्रीले १ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बिर्तामोड शाखाकै वेदनारायण गोदारले १ लाख नगदसहित सम्मान–पत्र हात पार्न सफल भएका छन् ।

त्यसैगरी एजेन्टतर्फको ‘एजेन्ट अफ द इयर’ अवार्डका लागि पहिलो हुने नयाँ बानेश्वर शाखाका अच्युत पौडेलले ३ लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो हुने बिर्तामोड शाखाकी प्रमिला बस्नेतले १ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बूढानीलकण्ठ शाखाका नैनबहादुर खत्रीले १ लाख नगदसहित सम्मान–पत्र हात पार्न सफल भएका छन् ।

कर्मचारीतर्फको ‘वेष्ट पर्फमेन्स अफ द इयर’ अवार्ड विर्तामोड शाखाका अमेन्द्रकुमार कर्ण र ‘वेस्ट रिजनल म्यानेजर अफ द इयर’ अवार्ड पूर्वाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक टीकादत्त प्याकुरेलले पाएका छन् ।

नेपालको जीवन बीमा बजारको लगभग ३२ प्रतिशतभन्दा बढी बजारहिस्सा ओगटेको नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारी तथा एजेन्टहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष यस्ता सम्मान तथा उत्प्रेरण मूलक कार्यक्रमहरु गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले जानकारी दिए ।

नेपालको इन्स्योरेन्स क्षेत्र विस्तारकै क्रममा रहेकाले पनि देशैभरी जीवन बीमाको सहज पहुँच पु¥याउन शाखा विस्तारको रणनीतिमा रहेको प्रमुख कार्यकारी अधिकृत झाले जानकारी दिए । नेपाल लाइफले समय सापेक्ष छिटो–छरितो, सरल र सहज रुपमा सेवा प्रदान गर्नको लागि प्रविधि मैत्री बीमा कारोबार अघि बढाएको र जसमा एप्स मार्फत बीमितलाई कुनै पनि समय कुनै पनि स्थानबाट सहज पुहँच प्राप्त हुने पनि उनले जानकारी दिए ।

कर्मचारीको कार्यसम्पादन तथा अभिकर्ताको उत्प्रेरणा वृद्धिको लागि आवश्यक तालिम तथा उत्प्रेरणा मूलक कार्यक्रमका साथै संस्थागत सुशासनमा विशेष जोड दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत झाले बताए ।

हाल यस कम्पनीको चुक्तापूँजी जीवन बीमाक्षेत्रकै सर्वाधिक ५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने लगानी ७२ अर्ब रुपैयाँ रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ६७ अर्ब रुपैयाँ रहेको छ । १ लाख २८ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका करिब १ सय ८४ भन्दा बढी शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको कम्पनीले जानकारी दिएको छ ।

हालसम्म स्वदेश र विदेश गरी २६ लाख ३० हजार बढी व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । कम्पनीले ग्राहकहरूको हितलाई ध्यानमा राखी समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

कार्यक्रममा देशभरबाट जम्मा भएका एजेन्सी म्यानेजर, एजेन्ट र कर्मचारीले खुशियाली साटासाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij