ई–आर्थिक, काठमाडौं – सुन्दर यातायात प्रालिका ल्याएको बिजुली बस बुधबार (भोली) देखि काठमाडौं उपत्यकाको चक्रपथमा गुड्ने भएका छन् । कम्पनीले ल्याएका विद्युतीय बस सेवाको सोमबार उद्घाटन गर्दै सो जानकारी दिएको हो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल अविष्कार केन्द्रका संस्थापक महावीर पुन, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले उक्त बसको संयुक्तरुपमा उद्घाटन गरेका हुन्।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले रिबन काटेर सेवा सञ्चालन गरेपछि उनलाई राखेर बिजुली बस पुलिस क्लबबाट सहिद गेट, सुन्धारा, रत्नपार्क हुँदै एक फन्को मारेर पुनः पुलिस क्लबमै आएको थियो ।
सुरुमा दुईवटा विद्युतीय बस बुधबारदेखि चक्रपथमा चल्ने कम्पनीका अध्यक्ष थापाले जानकारी दिए ।
यातायात व्यवस्था विभागबाट नम्बर प्लेटलगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बुधबारदेखि सञ्चालनमा ल्याउने उनले जानकारी दिए ।

३५ सिटे र अर्को ४० सिटे उक्त बस एउटाको १ करोड ६२ लाख खर्चेर नेपाल भित्र्याएको हो । कम्पनीले ल्याएको उक्त बसहरुले
वायु प्रदूषण र ध्वनि प्रदूषणबाट आक्रान्त सर्वसाधारणलाई केही हदसम्म भए पनि राहत दिने अध्यक्ष थापाले बताए ।
पेट्रोलियम पदार्थबाट चल्ने सवारीको तुलनामा बिजुलीबाट चल्ने सवारी साधन निकै उपयोगी हुने उनको भनाई थियो । विद्युतीय गाडीले वातावरणीय प्रदूषणमा समेत नियन्त्रण गर्ने उनले दाबी गरे ।

एक साताभित्रै थप पाँचवटा विद्युतीय बस आइपुग्ने उनले जानकारी दिए । उक्त बस दुई घन्टा चार्ज गरेपछि करिब २६५ किलोमिटर गुड्ने कम्पनीको भनाई छ । उक्त बसमा चढेवापत तिर्नुपर्ने भाडा स्मार्ट कार्डबाट समेत भुक्तानी गर्न सक्ने व्यवस्था कम्पनीले मिलाएको छ। सरकारले तोकेको भाडाभन्दा २० प्रतिशत कम हुने गरी भाडादर तोकिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले चीनबाट थप ११ वटा बस ल्याउने योजना बनाएको छ। प्रदेश ५ को राजधानी बुटवल र प्रदेश १ को विराटनगरमा पनि यस्तै बस चलाउन समझदारी भएको अध्यक्ष थापाले जानकारी दिए ।
आकर्षक र सुविधासम्पन्न उक्त बसले यात्रुहरुको मन जित्ने विश्वास पनि कम्पनीले लिएको छ ।