ई–आर्थिक, काठमाडौं । सिभिल बैंक लिमिटेडले बचत र मुद्दती निक्षेप योजना मिसाएर ‘एन्यूटी बचत योजना’ ल्याएको छ । यस्तो योजना ल्याउने सिभिल बैंक पहिलो भएको दाबी बैंकले गरेको छ ।
भविष्यमा आफूलाई आवश्यक पर्ने रकम अहिलेदेखि नै मासिक किस्ताका रुपमा बचत गर्दै जानु एन्यूटी बचत योजना हो । पूर्वनिर्धारित समयसम्म मासिक किस्ता बचत गरेपछि बैंकले एकमुस्ट रकम बचतकर्तालाई फिर्ता दिन्छ ।
संस्थागत तथा व्यक्तिगत दुवै बचतकर्ताले योजनामा सहभागिता जनाउन पाउँछन् । न्युनतम एक हजार रुपैयाँमा खोलिने यस्तो खाता एक वर्षदेखि सात वर्ष सम्मको लागि खोल्न सकिने व्यवस्था बैंकले मिलाएको छ । एकै जनाले एक भन्दा बढी खाता समेत खोल्न सकिने बैंकले जानकारी दिएको छ ।
खाता खोलेर रकम जम्मा गरेको तीन महिनापछि खाता बन्द गर्न पाइने सुविधा पनि बैंकले उपलब्ध गराएको छ । यस्तै बचतकर्ताले उक्त योजना अन्तर्गत आफ्नो बचतको ६० प्रतिशतसम्म ऋण लिन सकिने व्यवस्था बैंकले मिलाएको छ ।