ई–आर्थिक, काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले भोलानाथ पाठकको अध्यक्षतामा निर्विरोध नयाँ सञ्चालक समिति चयन गरेको छ । अध्यक्ष पाठक समेत नयाँ सञ्चालक समितिको कार्यकाल ४ वर्षको रहेको छ ।
नयाँ सञ्चालक समितिको द्वितीय उपाध्यक्षमा विजया मल्ल, सचिवमा लोचनहरि प्रसाईं, कोषाध्यक्षमा कुमार बिमली रहेका छन् । त्यसैगरी सञ्चालक समितिको सदस्यहरुमा रेणुका प्रधान, विन्दा कुँवर, हरिबंश कडरिया र गोपाल बहादुर तामाङ रहेका छन् । त्यस्तै
लेखासमिति संयोजकमा सुशील प्रसाईं रहेका छन् भने सदस्यहरुमा खेमराज पोखरेल र नवराज प्रसाईं रहेका छन् ।

त्यसैगरी ऋण उपसमिति सदस्यहरुमा अवधेशकुमार पाण्डे र मनिषकुमार शिवाकोटी चयन भएका छन् ।
त्यस्तै सभाले शिक्षा उपसमितिको संयोजकमा उत्तम राजभण्डारीलाई र सदस्यहरुमा युवराज प्रसाईं र चेतनाथ सिंह बस्नेतलाई चयन गरेको छ ।
निर्वाचन सम्पन्न गर्न बरिष्ठ अधिवक्ता छविरमण निरौलाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन उपसमिति बनाइएको थियो । समितिको सदस्यहरुमा नेफ्स्कुनका प्रमुख प्रशासकिय अधिकृत शिव अधिकारी र विनोद अधिकारी रहेका थिए ।
निर्वाचन उपसमितिका संयोजक निरौलाले निर्वाचनको कार्यक्रम सम्पन्न गरी नयाँ सञ्चालकहरुलाई शपथ ग्रहण गराएका थिए । सहमतिमा नयाँ सञ्चालक समिति चयन हुनुले पाँचतारामा एकता कायम रहेको सन्देश गएको उनले उल्लेख गरे । नयाँ समितिलाई बधाई दिँदै उनले भोलिका दिनमा संस्थालाई मुलुककै एक नमूना संस्थाको रुपमा स्थापित गर्न सुझाए ।
निर्वाचन समितिका सदस्य अधिकारीले असल व्यक्तिको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेकोमा बधाई दिँदै आगामी दिनमा एकापसमा मिलेर अझ प्रभावकारी रुपमा संस्थालाई अगाडि बढाउन सुझाव दिए ।
कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतले नेफ्स्कूनले सञ्चालन गरेका ३ मध्ये एउटा ब्राण्डिङ कार्यक्रममा संस्थालाई सहभागि गराउन सुझाव दिए ।

नेफ्स्कुनको मुलधारमा आएर नीति, विधि र प्रविधिमा अगाडि बढे संस्थाले छुट्टै पहिचान बनाउने उनले बताए ।
संस्थाका नवनिर्वाचित अध्यक्ष भोलानाथ पाठकले आफूलाई पूनः संस्थाको नेतृत्व लिने अवसर प्रदान गरेकोमा सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिँदै आफूले बोल्ने भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता जनाए । सदस्यहरुले दिएको दायित्वलाई पूरा गरेरै छाड्ने र सबैको सहयोग र सद्भावको अपेक्षा उनले गरे । संस्थाको प्रगति होस् भन्ने सदस्यहरुको भावनालाई आत्मसात् गर्दै नयाँ सञ्चालक समिति र विभिन्न उपसमितिहरुलाई क्रियाशील बनाई सदस्य र संस्थाको हितका लागि काम गर्ने उनले जनाए ।
सभाले संस्थाको आर्थिक २०७५/७६को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनलाई पारित गरेको छ ।
गत आवको अन्त्यसम्म संस्थाको शेयरपूँजी ६ करोड २६ हजार, बचत संकलन ३८ करोड ९ लाख र ऋण लगानी ३६ करोड ८८ लाख ७७ हजार रहेको कोषाध्यक्ष कुमार बिमलीले जानकारी दिए । संस्थाले गत आवमा २ करोड १४ लाख ९५ हजार सञ्चालन नाफा आर्जन गरेको छ भने त्यस अवधिमा प्रत्यक्ष र अन्य कर गरी ५२ लाख रुपैया राजश्व तिरेको छ । संस्थामा हाल १ हजार ७७८ शेयर सदस्य रहेका छन् । संस्थाको जगेडा कोष, प्राकृतिक विपत्ति कोष, अन्य खर्च नहुने कोष, घाटापूर्ति कोष र ऋण नोक्सानी कोषमा गरी ५ करोड ३४ लाख ६२ हजार रकम सञ्चित रहेको छ ।

उद्यमशीलता बाट नै व्यक्ति र देशको आर्थिक विकास सम्भव हुने भएकाले सदस्यहरुलाई आयस्तर वृद्धि हुने क्षेत्रमा संस्थाले लगानी गर्दै आएको छ । संस्थाबाट ऋण लिई उद्देश्य अनुसार रकम प्रयोग गरी आफ्नो आर्थिक अवस्थालाई सबल बनाउनका लागि संस्थासँग सहकार्य गर्न आव्हान गर्दै पाठकले त्यसका लागि थप प्राविधिक र व्यवसायिक सहयोग जुटाइदिने उल्लेख गरे । कार्यक्षेत्र भित्रका अति विपन्न सदस्यलाई ११ प्रतिशतमा ऋण उपलब्ध गराउने योजना रहेको र त्यसका लागि निवेदन दिन उनले आव्हान गरे । साथै यस वर्ष महिला उद्यमीलाई प्रोत्साहन गर्न खास प्रकृतिको उद्यम गर्न चाहने एकल वा समुहलाई १४ प्रतिशतमा नै ऋण उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए ।
सदस्यहरुको आर्थिक रुपान्तरणसँगै सामाजिक तथा साँस्कृतिक उत्थानका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । त्यस क्षेत्रमा सौर्य बत्ती जडान, नहाकटी मन्दिर पुनर्निर्माण तथा क्रियापुत्री भवन निर्माण, गार्डेनहरुमा आराम गर्न मेच निर्माण, रक्तदान, सरसफाई, अग्रज सहकारी अभियन्ताहरुको सम्मान र ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने जस्ता विविध गतिविधि संस्थाले गर्दै आएको छ ।

सदस्यको हितमा संस्थाले निकट भविष्यमा ५ लाख सम्मको सदस्य दुर्घटना बीमा र ५ लाखसम्मको साना ऋणको जोखिम बीमा गर्ने सम्बन्धमा बीमा कम्पनीहरुसँग छलफल गरी प्रकृया अगाडि बढाउने भएको छ । संस्थाले यस आ.व. का लागि एटिएम, मोबाइल बैंकिङ, अनलाइन पेमेण्ट सिस्टम आदि सेवालाई सदस्यसम्म पु¥याउन आवश्यक पहल गर्ने, कर्मचारीलाई सामाजिक कोषमा सहभागि गराउने, नेफ्स्कुनले शुरु गरेको एक्सेस ब्राण्डिङमा जान छलफल गरी प्रक्रिया अगाडि बढाउने, लगानीका क्षेत्रहरु पहिचान गरी सुरक्षित ऋण प्रवाहकालागि अध्ययन गर्ने, मर्जर गर्न चाहने संस्थासँग प्रक्रिया अगाडि बढाउने र सहकारीहरुबीच समन्वय गरी उत्पादनमुखी वा व्यवसायिक परियोजनामा साझेदारी गर्ने योजना बनाएको छ ।