ई–आर्थिक, काठमाडौं । दोर्दीखोला जलविद्युत् आयोजनाको सुरुङको अन्तिम ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ ।
२.८ कि मी टनेलको सफलतापूर्वक ब्रेक थ्रु गरिएको थियो । टनेलको अन्तिम ब्रेक थ्रु कम्पनीका संचालक चन्द्रप्रसाद ढकालले गरेका थिए ।

सो कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सबै सुरक्षा निकायहरुका प्रमुखहरु, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष, स्थानीय शेयर लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।
हिमालयन पावर पाट्नर्सद्वारा प्रबर्द्धन गरिएको यो हाइड्रोपावर प्रोजेक्ट २७ मेगावाटको हो ।

यो हाइड्रोपावरको कुल संसोधित लागत करिब रु. ४५० करोड हुने आयोजनाले जानकारी दिएको छ । यो आयोजनाले आगामी चैत भित्र व्यावसायिक रूपमा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।
सुरुङ सुरु हुने ठाउँ बेंसीसहर नगरपालिका–११ (साविक चिती–४) रियाले र आउटलेट साविक चिती ७ रामचोकमा रहेको छ । आउटलेटबाट पावर हाउससम्म ७ मिटरको पेनस्टक आयोजनाले जानकारी दिएको छ । हेडवर्क्सबाट इनलेटसम्म ३ हजार २ सय फलामे हेडरेस पाइपलाइन रहनेछ । जुन करिब ६ सय मिटर मात्रै जडान गर्न बाँकी रहेको छ ।
सुरुङको निर्माणकार्य ४ वर्षअघि थालिएको उक्त आयोजनाको मल्टी इन्फ्रा इन्स्ट्रक्टर डेभलपमेन्ट कम्पनीले काम निर्माण कार्य गरिरहेको छ ।
करिब ३ वर्षमा सुरुङ खन्नेकार्य सकिएको हो । उक्त आयोजनाको निर्माणकार्य २०७१ फागुनबाट थालेको थियो ।

सुरुमा ३ वर्षमा निर्माण सक्ने लक्ष्य लिइएको यो आयोजना तोकिएकामा निर्माण कार्य नसकिएपछि ६ महिना निर्माण अवधि लम्बिएको छ । निर्माणकार्य सकेर आगामी चैतभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजनाले जानकारी दिएको छ ।
सुरुमा २०७२ वैशाख १२ गतेको भूकम्प, त्यसपछिको भारतीय नाकाबन्दीले काम गर्न नदिएको आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले जानकारी दिए । हरेक वर्ष बर्खायामको बाढीपहिरोले आयोजना निर्माणकार्य ढिलाइ भएको पनि उनले जानकारी दिए ।