ई–आर्थिक, काठमाडौं । पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई विहीवार साँझ न्युज २४ टेलिभिजन च्यानलको कार्यालयबाट पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पत्रकार सालीकराम पुडासैनीलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो सार्वजनिक भएको भोलिपल्टै रवि लामिछाने सहितलाई प्रहरीले पक्राउ गरेको हो ।
गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएर मृत अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।
पुडासैनीको सोही भिडियो वयानका आधारमा प्रहरीले रवि लामिछाने र युवराज कँडेललाई समातेको हो ।
रवि लामिछानेलाई पक्राउ गर्नुअघि प्रहरीले पुडासैनीको भिडियो प्रहरी प्रधान कार्यालयमा मगाएर परीक्षण गरेको थियो ।
सो पछि अनुसन्धान गर्न उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूसँगै ओखलढुंगा घर भएकी रुकु भनिने अस्मिता कार्कीलाई पनि प्रहरीले कलंकीबाट नियन्त्रणमा लिएको छ । एक अस्पतालमा कार्यरत नर्स कार्कीलाई भने प्रहरीले पक्राउ गरिएको नभएर ‘संरक्षण’ गरिएको प्रहरीले जानकारी दिएको छ ।