पोखरा । पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने भएको छ । त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने योजना महानगरको छ । महानगरप्रमुख मानबहादुर जिसीका अनुसार पोखराको यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको छ ।
कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोण हस्तान्तरण गर्दै प्रमुख जिसीले भने, ‘अबको छ महिनामा योजना तयार हुनेछ र पोखरामा यातायात व्यवस्थापन गरिनेछ’, महानगर प्रमुख जिसीले दक्षिण एशियाली खेलकूद (साग) लाई दृष्टिगत गरेर पोखराका चार वटा चोकमा ट्राफिक लाइट जडान गरिने बताए ।
आगामी मङ्सिरभित्र सिर्जनाचोकमा आकाशे पुल बनिसक्ने र सागलाई नै ध्यानमा राखेर शहरका मुख्य ठाउँमा सिसिटिभी जडानको योजनासमेत बनाइएको उनले जानकारी दिए । ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण भए पनि सुधार गरेर लैजान महानगर लागिपरेको छ भन्दै महानगरप्रमुख जिसीले यहाँका केही सडकमा एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता भएको पनि बताए ।
महानगरले उपलब्ध गराएको ४९६ थान ‘ट्राफिक कोण’ ले ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन सहयोग पुग्ने बताउँदै गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जनशक्ति व्यवस्थापनमा ध्यान दिइरहेको बताए ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले पोखरामा १०० ट्राफिक प्रहरी कार्यरत रहे पनि ट्राफिक व्यवस्थापनलाई सहज बनाउन २५० जनशक्ति आवश्यक भएको बताउनुभयो ।