२०८३ साउन ९ शनिबार

पाइपबाट आयो हजार किलोलिटर डिजेल

ई आर्थिक    शनिबार, साउन ४ २०७६
4.7K
Shares
पाइपबाट आयो हजार किलोलिटर डिजेल
पवन यादव, शंकर आचार्य, श्रावण ४, २०७६, सिमरा / पर्सा : मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट शुक्रबार परीक्षणका क्रममा १ हजार किलोलिटर डिजेल भित्रिएको छ । परीक्षणका क्रममा भारतको पटनाबाट पाइपमा बुधबार पानी र डिजेल सँगसँगै जसो छाडिएको थियो । पानी शुक्रबार बिहान अढाइ बजे र डिजेल ६ बजे अमलेखगन्ज डिपोमा आइपुगेको हो ।

मोतीहारी–अमलेखगन्ज पाइप लाइन परियोजनाका प्रमुख प्रदीपकुमार यादवका अनुसार पाइपमा पटनाबाट छाडिएको तेल हेर्न नेपाल र भारतका प्राविधिकसहितको टोली खटेको थियो । ‘तेल र पानीको पर्खाइमा रातभरि सुतेनौं,’ उनले भने । परीक्षण सफल भएको र१ हजार किलोलिटर तेल स्टक गरिएको यादवले जानकारीदिए ।

अमलेखगन्ज डिपोमा शुक्रबार पहिलोपटक सफल रूपमा डिजेल आयात गरिएसँगै निर्धारित समयभन्दा करिब ८ महिनाअघि नै मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजना सम्पन्न भएको छ । सन् २०१८ डिसेम्बरदेखि यो परियोजनामा काम सुरु भएको थियो ।

२०२० सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी समयसीमा तोकिएको थियो ।भारतस्थित पाइपलाइन्स प्रभा पटना–मोतीहारी–बैतालपुर पाइप लाइन परियोजनाका प्रबन्ध निर्देशक एनके पान्डाले ७० किलोको प्रेसरले पटनाबाट अमलेखगन्जसम्म पाइप लाइनबाट तेल भित्रिरहेको जानकारी दिए । पटनाको जमिनको सतहभन्दा झन्डै ३ सय ३ मिटर उचाइमा अमलेखगन्ज डिपो छ ।

‘पटनाभन्दा अमलेखगन्ज अग्लो ठाउँमा भएकाले पाइप लाइनमा तेलको प्रेसर बढी दिनुपरेको हो,’ पान्डाले भने, ‘रक्सौल सीमा क्षेत्रसम्मको लेबल बराबर रहे पनि त्यहाँबाट अमलेखगन्जसम्मको जमिनको लेभल उँचो छ ।’

रुख कटान, रेलको लिक, सडकमुनि, सहरमुनि पाइप गाड्न भारत र नेपाल सरकारको अनुमति लिनमै धेरै समय लागेकाले तेल भित्र्याउने काम ढिलो भएको पाइप लाइन्सप्रभाग पटना–मोतीहारी–बैतालपुर पाइप लाइन परियोजनाका मुख्य निर्माण प्रबन्धक राजेशकुमार सोनकरले जानकारी दिए । ‘परियोजनाका क्रममा भन्सार प्रक्रिया पुर्‍याउन र रुख कटान गर्नमै धेरै समय लाग्यो,’ उनले भने, ‘तर पनि तोकिएको समयभन्दा अगाडि नै तेल भित्र्याएका छौं ।’

निर्धारित समयसीमाभन्दा ८ महिना अगाडि नै परियोजना सम्पन्न गरी तेलको सफल परीक्षण गरिएको सोनकरले बताए । पटनामा रहेको तेलको गुणस्तर जति नै अमलेगन्जमा झरेको तेलको गुणस्तर पनि रहेको उनले दाबी गरे । ‘तेलको क्वालिटीमा कुनै फरक देखिएन,’ उनले भने ।

भारतको मोतीहारीमा पम्पिङ हाउस निर्माण नहुँदासम्म पटना–सिवान–मोतीहारी हुँदै अमलेखगन्जमा सिधै तेल भित्र्याउने काम अगाडि बढाइएको नेपाल आयल निगमका अधिकारीले बताए । अमलेखगन्जमा पाइप लाइनको तेल भण्डारण गर्न यसअघि नै ४१ सय किलोलिटरका दुईवटा ट्यांकी र ३९ सय किलोलिटरको २ वटा गरी ४ वटा ट्यांकीमा पाइप लाइनको भल्भ जडान गरिएको थियो ।

पाइप लाइनबाट भित्रिने तेलको प्रेसर अत्यधिक हुने भएकाले त्यसलाई कम गर्न स्वचालित थुप्रै घुमाउरो भल्भसमेत राखिसकिएको मोतीहारी–अमलेखगन्जपाइप लाइन परियोजना कार्यालय सिमराका इन्जिनियर शरद पौडेलले जानकारीदिए ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij