आर्थिक वर्ष २०७५/७६ मा विदेश जाने नेपाली कामदारको संख्या १६.९५ प्रतिशतले कम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अपेक्षाअनुसार बढ्न नसक्दा ती देशले ठूल्ठूला नयाँ आयोजना सञ्चालन गर्न सकेका छैनन् । दक्ष जनशक्ति चाहिने र सहज हुने प्रकृतिका क्षेत्रमा आफ्नै नागरिकलाई रोजगार दिने नीति उनीहरूले लिएका छन् ।
केही वर्षअघिसम्म खाडी मुलुकले नेपाल, भारत, बंगलादेश र पाकिस्तानबाट बढी कामदार लैजान्थे । पछिल्ला चार आर्थिक वर्षको तथ्यांकअनुसार नेपालसहित यी तीनवटै देशबाट जाने कामदारको संख्या निरन्तर घट्दोछ । वैदेशिक रोजगार व्यवसायीका अनुसार नेपालले मागपत्र प्राप्त गर्न बंगलादेश, भारत र पाकिस्तानसँग मुख्य प्रतिस्पर्धा गर्नुपर्छ ।
सरकारले टिकट र भिसा शुल्क कामदारबाट लिन नपाउने नीति लागू भएको आर्थिक वर्ष २०७२/७३ मा नेपालबाट साउदी अरब एक लाख ३४ हजार गएका थिए । त्यसपछिको वर्षमा झन्डै आधा कामदार मात्रै गएका छन् । आर्थिक वर्ष २०७३/७४ मा ७२ हजार, २०७४/७५ मा ४० हजार गए । गत आर्थिक वर्षमा ४६ हजार कामदार गएका छन् । यो अघिल्लो वर्षको तुलनामा ६ हजारले बढेको हो । यही अवधिमा भारतबाट साउदी अरब जानेको संख्या पनि घटेको देखिन्छ ।
पाकिस्तानबाट सन् २०१५ मा ५ लाख २२ हजार गएका थिए । त्यसपछिका वर्षहरूमा क्रमश: ४ लाख ६२ हजार, एक लाख ४३ हजार र एक लाख कामदार साउदी अरब गएका छन् ।
यही समयमा भारतबाट जानेको संख्या पनि घटिरहेको छ । भारतबाट सन् २०१५ मा ५९ हजार कामदार गएका थिए । त्यसपछिका वर्षहरूमा क्रमश: ३० हजार, २४ हजार गए । सन् २०१८ मा ३२ हजार मात्रै कामदार गए ।
बंगलादेशबाट सन् २०१५ मा एक लाख २३ हजार कामदार गएका थिए । त्यसपछिका वर्षहरूमा क्रमश: एक लाख २० हजार, ८२ हजार जना गए । गत वर्ष २०१८ मा ७६ हजार कामदार मात्रै गएको पाइएको छ ।
पाकिस्तानबाट जानेको संख्या भने केही बढेको छ । सन् २०१५ मा १२ हजार कामदार कतार गएका थिए । त्यसपछिका तीन वर्षहरूमा क्रमश: ९ हजार, ११ हजार र २० हजार गए । कतारले पाकिस्तानी नागरिकलाई कतारी प्रहरीमा भर्ती गर्नुका साथै विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा संलग्न गराउने नीति लिएकाले पाकिस्तानीको संख्या बढेको हो । पाकिस्तानीले कतार जान प्रति व्यक्ति ४० हजार रियालसम्म खर्च गर्ने गरेका छन् ।
त्यसपछिका वर्षहरूमा क्रमश: ५७ हजार, ६० हजार र आर्थिक वर्ष २०७५/७६ मा ६२ हजार जना कामदार गए । भारतबाट जाने कामदार संख्या भने घटेको घटयै छ । सन् २०१५ मा २ लाख २५ हजार यूएई गएका थिए । त्यसपछि क्रमश: एक लाख ६३ हजार, एक लाख ४९ हजार, एक लाख भारतीय त्यहाँ गए । बंगलादेशबाट सन् २०१५ मा २५ हजार कामदार यूएई गएका थिए । त्यसपछिका वर्षहरूमा क्रमश: ८ हजार, ४ हजार हुँदै ३ हजारमा सीमित भएको छ ।
सन् २०१५ मा ३ लाख २६ हजार पाकिस्तानी गएका थिए । त्यसपछि २ लाख ९५ हजार, २ लाख ७५ हजार, दुई लाख जना गए । सन् २०१८ मा घटेर एक लाखमा आइपुगेको छ ।
घरेलु कामदारको वर्चस्व रहेको कुवेतमा कम्पनीमा काम गर्ने नेपालीको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७२/७३ मा ९ हजार नेपाली कुवेत गएका थिए । त्यसपछि बढेर १३ हजार हुँदै १७ हजार पुगेको छ । आर्थिक वर्ष २०७५/७६ मा १५ हजार पुगेको छ ।
कुवेत जाने भारतीय संख्या पनि घटेको छ । सन् २०१५ मा ६६ हजार भारतीय कुवेत गएका थिए । त्यसपछिका वर्षहरूमा क्रमश: ६६ हजार, ७२ हजार, ५६ हजार जना गए । सन् २०१८ मा ३२ हजार मात्रै गएको पाइएको छ ।
बंगलादेशी कामदारको पनि अवस्था उस्तै छ । सन् २०१५ मा १७ हजार गएका थिए । त्यसपछि वर्षहरूमा जानेको संख्या ३९ हजार, ४९ हजार र २७ हजारमा आइपुगेको छ । कुवेतमा पाकिस्तानबाट जानेको संख्या यो वर्षमा सय पनि छैन । बहराइन र ओमनमा नेपालीको उपस्थिति पहिलादेखि नै उल्लेख छैन ।
खाडी क्षेत्रमा ५ जुन २०१७ देखि देखिएको कूटनीतिक संकट यथावत् छ । साउदी अरबको नेतृत्वमा यूएई, बहराइन, इजिप्टले कतारलाई लगाएको नाकाबन्दीले नेपालीसहितको श्रमिकको रोजगारीमा ठूलो असर परेको छ । नाकाबन्दीले कतारलाई मात्रै असर परेको छैन, साउदी, यूएई, बहराइन, ओमन र कुवेतमा कार्यरत नेपालीले समेत रोजगारी गुमाउनुपरेको छ ।
कतारमा साउदी, यूएई र बहराइनका नागरिकद्वारा सञ्चालित कम्पनीहरू बन्द भएका छन् । ‘जुन कम्पनीको साहू (स्पोन्सर) परिवर्तन गर्न सफल भयो, ती सञ्चालन भएका छन् । जसको साहू परिवर्तन भएन ती बन्द भए,’ खाडीका एक नेपाली राजदूतले भने, ‘झन्डै डेढ वर्षमा हजारौं नेपालीको रोजगारी गयो ।’
अर्कोतिर कतारमा खाद्यान्न र निर्माण सामग्री पठाउने यूएई र साउदी अरबमा रहेका सयौं कम्पनी बन्द भए । ती कम्पनीमा रहेका हजारौं कामदारले अरू कम्पनीमा रोजगार पाउन सकेनन् । कैयौं कम्पनी नाजुक अवस्थामा सञ्चालित छन् । यूएई र बहराइनका होटलहरू धरापमा परेका छन् ।
‘एक घण्टाको उडानमा हरेक साता कतारबाट यूएईमा हजारौं पर्यटक आउँथे । उनीहरू दुई दिन आउँदा दुबईका होटलहरू चलेका थिए । अहिले कतारी नागरिक आउन बन्द छ । अन्य देशका नागरिकको एकदमै कम आवतजावत छ,’ दुबईस्थित क्राउन प्लाजा होटलमा कार्यरत एक नेपाली भन्छन्, ‘दुबईका होटलहरूमा ठूलो आर्थिक क्षति परेको छ । जसले भएका कामदार कटौतीमा परेका छन् । नयाँ कामदारको भर्ना भएको छैन ।’
खाडीमा नेपाली श्रमिकको प्रमुख गन्तव्य कतार आफैंले नयाँ बृहत् आयोजना सुरु गरेको छैन । कतार सन् २०२२ लक्षित विश्वकप फुटबलका लागि रंगशालाका आयोजनाहरू सम्पन्न गर्न मात्रै केन्द्रित छ । रंगशाला आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
साउदीमा आर्थिक मन्दी
विश्व बजारको अर्थतन्त्रमा ठूलो भूमिका खेल्ने साउदी अरब आफैं आर्थिक मन्दीबाट माथि उठ्न सकेको छैन । साउदीको आम्दानीको मुख्य स्रोत तेल हो । कर्मचारीको तलब, सामाजिक सुरक्षा र सैन्य क्षेत्रमा खर्च बढ्दो छ । अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका करिन योङका अनुसार साउदी अरबले बृहत् आयोजनाहरू सुरुवात गर्न सकेको छैन । आगामी २५ वर्षपछि झन्डै एक करोड साउदी नागरिकले अवकाश पाउने स्थिति रहेकाले सामाजिक सुरक्षा ठूलो चुनौती बनेको छ ।
श्रम मन्त्रालयले वैशाख ३१ देखि ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका’ कार्यान्वयनमा ल्यायो । यसको अर्थ हो, नेपाली कामदार ल्याउने कम्पनी आफैं मागपत्र प्रमाणीकरण गर्न नेपाली दूतावासमा पुग्नैपर्छ । दूतावासले जबसम्म कम्पनीको मागपत्रलाई प्रमाणीकरण/अभिलेख गर्दैन, तबसम्म नेपाली कामदार ल्याउने प्रक्रिया सुरु हुँदैन ।
कान्तिपुरबाट