ई–आर्थिक, काठमाडौं : भारतको बैंगलोरस्थित शिवनगरमा घर भासिदा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । उक्त घट्नामा अन्य दुईको पनि मृत्यु भएको छ ।
भासिएको भवनबाट उनीहरुको शव १२ घण्टापछि निकालिएको थियो ।
मंगलबार राति २ बजे भवन भासिएको थियो । उक्त घटनामा बझाङको थलारा गाउँपालिका–२ बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्काको ज्यान गएको होे ।
ज्यान गुमाउने नेपाली बैंगलोरस्थित शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्दथे ।
भारतको शारदा नहरमा खसेको बसबाट ३२ नेपालीको जीवितै उद्दार

यसैबीच भारतको उत्तर प्रदेश प्रान्तमा रहेको शारदा नहरमा बस खस्दा ३२ नेपाली दुर्घटनामा परेका छन् । उक्त दुर्घटनामा परेका एक भारतीय नागरिक सहित ३२ नेपालीको जीवितै उद्धार गरिएको छ ।
फूलबेहड़ गाउँमा स्थित शारदा नहरमा बुधवार बस खसेपछि त्यहाँ भारतीय प्रहरीले उनीहरूलाई जीवितै उद्धार गरेको हो । भारतको शिमलाबाट दाङको लागि छुटेको नेपाली बस बुधबार बिहान करिब ५ बजे शारदा नहरमा खसेको थियो ।
चालकले नियन्त्रण गुमाउँदा यो घटना भएको प्रहरीले अनुमान लगाएको छ ।