२०८३ साउन १० आइतबार

एकापसमा मिल्ने भए ग्लोबल आइएमई र जनता बैंक

ई आर्थिक    शनिबार, असार २१ २०७६
4.8K
Shares
एकापसमा मिल्ने भए ग्लोबल आइएमई र जनता बैंक
काठमाडौँ, असार २० । ग्लोबल आइएमई बैंक र जनता बैंकले एकापसमा गाभिने सहमति गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकलाई एकापसमा गाँभिनका लागि प्रोत्साहन गर्ने नीति राखेको र नेपाल राष्ट्र बैंकले अभिप्रेरित गरेको सन्दर्भमा ती दुई बैंक एकापसमा मिसिने निर्णय आज गरेका हुन् ।

सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गर्नुभएको छ । यही असार १२ गते नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले वाणिज्य बैंकका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाभिनका लागि उपयुक्त सहयात्री खोज्न आग्रह गर्नुभएको थियो ।

वाणिज्य बैंकलाई एकापसमा गाभिनका लागि राष्ट्र बैंकले बिहीबारसम्मको समयसीमा दिएको थियो । बिहीबार मात्रै विभिन्न सात वाणिज्य बैंकले गाभिनसक्ने विषयमा राष्ट्र बैंकलाई आशयपत्र बुझाएका थिए । राष्ट्र बैंकले दिएको समयसीमाभित्रै एकापसमा गाभिने निर्णय दुई बैंकले गरेका हुन् । राष्ट्र बैंकका गभर्नर डा नेपालकै शब्दमा ग्लोबल आइएमई र जनता बैंकको बीचमा ‘लभ’ परेको छ ।

एकापसमा गाभिने सहमतिपछि कुरा गर्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले सरकारको नीतिअनुसार दुई बैंक एकापसमा मिल्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार ग्लोबल आइएमई बैंकको १०० कित्ता शेयर बराबर जनता बैंकको ८५ कित्ता शेयर हुने गरी ‘स्वाप रेसियो’ तय गरिएको छ ।

सहमतिअनुसार गाभिएर बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बैंक नै रहनेछ । यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका हालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री नै रहनुहुनेछ । यस्तै ग्लोबल आइएमई बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश ढकाललाई उचित जिम्मेवारी दिइनेछ ।

नयाँ सञ्चालक समिति सात सदस्यीय बनाइनेछ । त्यसमा ग्लोबल आइएमईका तर्फबाट पाँच र जनता बैंकका तर्फबाट दुई जना रहनेछन् । दुई बैंक मिलेपछि सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंक बन्ने जानकारी दिँदै अध्यक्ष ढकालले भन्नुभयो, “कूल चुक्ता पूँजी मात्रै रु १८ अर्ब बराबरको हुनेछ ।” यस्तै रिजर्भसमेत गरी कूल रु २५ अर्ब बराबरको हिस्सा पुग्नेछ ।

हाल ग्लोबल आइएमई बैंकको कूल चुक्ता पूँजी रु १० अर्ब ३१ करोड रहेको छ । यस्तै जनता बैंकको रु आठ अर्ब सात करोड चुक्ता पूँजी रहेको छ । गत चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकले रु एक खर्ब १६ अर्ब निक्षेप सङ्कलन गरेको थियो । यस्तै जनता बैंकको रु ७० अर्ब निक्षेप रहेको छ । एकापसमा गाभिएपछि बैंकको निक्षेप मात्रै रु एक खर्ब ८७ अर्ब पुग्नेछ ।

वित्तीय स्थायित्वका लागि बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घटाउनुपर्नेमा अर्थमन्त्री डा युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर डा नेपालले जोड दिँदै आउनुभएको छ । हाल वाणिज्य बैंकको सङ्ख्या २८ रहेको छ ।

“नियमित छलफलपछि हामीले एकापसमा गाभिने निर्णय गरेका हौँ, नेपालको बैंक तथा वित्तीय क्षेत्रमा यसले दूरगामी प्रभाव पार्ने मैले विश्वास लिएको छु”, अध्यक्ष ढकालले भन्नुभयो । दुई बैंकका कर्मचारी, सम्पत्ति तथा अन्य विषयमा भने आवश्यक निर्णय लिइने उहाँको भनाइ छ । यस्तै अन्य वाणिज्य बैंकलेसमेत एकापसमा गाभिनका लागि छलफल तीव्र पारेका छन् । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकबीच हुन लागेको गाभिने प्रक्रियालाई ‘बिग मर्जर’ को सङ्ज्ञा दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij