ई–आर्थिक, १३ असार, काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको ‘विवादित अभिव्यक्ति’ संसद छिरेको छ ।
निरन्तर विवादित अभिव्यक्ति दिँदै आएका मेयर मेयर चौधरीलाई कारवाही गर्न सांसदहरूले माग गरेका छन् ।
सत्तारूढ दलका पत्रकार देखि महिला, पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेतलाई चुनौति दिने चौधरीको धेरै अभिव्यक्तिहरू विवादित छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा झण्डै सांसदहरूले मेयर चौधरीले अपमानजनक शब्द प्रयोग गरेको भन्दै कारवाहीको माग गरेका हुन ।
नेपाली काँग्रेसकी कांग्रेस कोषाध्यक्ष समेत रहेकी सांसद सीतादेवी यादवले सम्पूर्ण महिलामाथि अपमानजनक शब्द प्रयोग गर्दा पनि मेयरलाई अहिलेसम्म कारवाही नगरेको प्रति आश्चर्य व्यक्त गरिन । बैठकमा उनले यस्तो घृणित काम गर्ने मेयरलाई तुरुन्त कारवाही गर्न जोडदार माग गरिन ।
काँग्रेस सांसद लक्ष्मी परियारले पत्रकारको नाकको डाँडी भाँच्ने धम्की दिने, महिलाहरुमाथि अपमान हुने गरी अभिव्यक्ति दिँदै आएका मेयर चौधरीलाई तत्काल कार्वाही गर्न सरकारलाई ध्यानाकर्षण गराइन् । मेयर चौधरीको अहमता के लागि हो ? ५१ प्रतिशत महिलाबारे अपमानजक शब्द प्रयोग गर्ने उहाँलाई सरकारकाले कारवाही गरोस् ।’
प्रतिनिधिसभाको बैठकको सुरुमै विशेष समय लिएर बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मेयर चौंधरीले महिलामाथि अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाएका थिए।
बैठकमा उनी विरूद्ध सत्तारूढ दलकै सांसद समेत खनिए । नेकपा नेतृ तथा सांसद विन्दा पाण्डेले प्रतिनिधिसभा बैठकमा मेयर चौधरीको अभिव्यक्तिले आफूहरूलाई समेत लज्जास्पद बनाएको बताइन ।
स्थानीय तहदेखि संघीय तहसम्मका कतिपय जनप्रतिनिधिका अभिव्यक्तिले मतदाताको समेत शीर निहुर्याउनु पर्ने अवस्था देखिएको उनको भनाई छ ।
जिम्मेवार जनप्रतिनिधिको बोली अशिष्ट मात्रै होइन आपराधिक समेत भएको सांसद पाण्डेले जानकारी दिइन । उनीले चौधरी कारवाहीको भागिदार हुन पर्ने बताइन । उनले भनिन्– ‘गल्ती अनुसारको कारवाही सबैलाई हुन्छ भन्ने सन्देश प्रवाह गर्न त्यस्ता अभिव्यक्ति दिनेमाथि यथाशीघ्र कारवाहीको प्रक्रिया अगाडि बढाइयोस् ।’