२०८३ साउन १० आइतबार

१५ लाख ३६ हजारले खोले हितग्राही खाता  

ई आर्थिक    बुधबार, असार ४ २०७६
7K
Shares
१५ लाख ३६ हजारले खोले हितग्राही खाता  

पूजा चँदारा, काठमाडौ । सेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या १५ लाख नाघेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार ३ असारसम्ममा सञ्चालनमा रहेको हितग्राही (डिम्याट) खाताको संख्या १५ लाख ३६ हजार ४४८ पुगेको हो ।

सीडीएस एन्ड क्लियरिङले देशभर आफ्नो सेवा विस्तार गर्दै मेरो सेयर एप्लिकेसनमार्फत पनि लगानीकर्ताहरूको सेयरमा सहज पहुँच स्थापना गरेको जनाएको छ ।

सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या दिनप्रतिदिन बढ्दो रहेको बताएका छन् । उनले सेयर बजारमा लगानीकर्ता थपिँदै गएको र यसले पुँजी बजारको विस्तारमा सहयोग पुग्ने बताए ।

केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) का अनुसार ३ असारसम्म २०५ वटा कम्पनीका ४ अर्ब २७ करोड १५ लाख ८५ हजार ३६४ कित्ता सेयर अभौतिकीकरण (डिम्याट) भइसकेको जनाएको छ । २०५ कम्पनीको सेयर रजिस्टारको काम ६४ वटा संस्थाले गर्दै आएका छन् । सेयर प्रमाणपत्र डिजिटल भएपछि हराउने, आगलागी हुने, सेयर बिक्री गर्दा हस्ताक्षर भेरिफिकेसनलगायतका समस्या समाधान भएको पनि सीडीएससी जनाएको छ ।

डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक खातावालाले वार्षिक सय रुपैयाँ नवीकरण शुल्क तिनुपर्ने व्यवस्था रहेको छ । साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता निक्षेप सदस्यले नवीकरण नगरेसम्मका लागि रोक्कासमेत गर्न सकिन्छ ।

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७५/७६ का लागि वार्षिक नीति तथा कार्यक्रममा नेपालभरि धितोपत्र बजार विस्तार गर्ने र जनसहभागिता बढाउनका लागि एक नेपाली, एक डिम्याट खाता अभियान सञ्चालन गर्ने नीति लिएको थियो । यहि नीतिलाई सार्थक बनाउन कतिपय निक्षेप सदस्यले निःशुल्क डिम्याट खाता खोल्नुका साथै एकवर्षको वार्षिक शुल्क समेत निःशुल्क गरेका छन् । जसले पनि डिम्याट खातावालाहरूको संख्या बढेको गुप्ताले बताए ।
नेप्सेले सीडीएससीमार्फत २०७१ चैत्र २२ गतेदेखि डिम्याट सेयरको आंशिक कारोबार सुरु गरेकोमा २०७२ बैशाख ६ गतेदेखि सेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक सेयर कारोबार थालेको थियो । २०७२ माघ १ गतेदेखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट सेयर मात्र कारोबार हुँदै आएको छ ।

सीडीएस एन्ड क्लियरिङमा निक्षेप सदस्य (डीपी सेवा) संख्या ६९ पुगेको छ भने मेरो सेयरमा आबद्ध निक्षेप सदस्य संस्थाहरूको संख्या पनि ६९ रहेको छ । आस्बा प्रणालीमा आबद्ध भएर सी–आस्बा सेवा प्रदान गर्ने कम्पनीको संख्या ६४ वटा रहेको छ ।

सेयर कारोबारका लागि ५० वटा सेयर दलाल सदस्यहरूले राफसाफ सदस्यका रूपमा काम गर्दै आएका छन् । सञ्चालनमा रहेका ५० वटा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) र तीनका शाखा कार्यालयमार्फत अनलाइन र परम्परागत दुवै तरिकाबाट अहिले सेयर कारोबार हुँदै आएको छ । हालै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई पनि सेयरको कारोबार गर्न अनुमति दिएको छ ।

सेयर बजार सुस्तायो

साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार परिसूचक नेप्से सुस्त देखिएको छ । यस दिन नेप्से परिसूचक २.२३ अंकले घटेर १२५८.६६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यस दिन १७७ कम्पनीको ३५ करोड ९४ लाख ११ हजार ३०५ रुपैयाँको कारोबार भएको छ । १२ लाख २६ हजार ६८६ कित्ता सेयर खरिदबिक्री भएको छ । मंगलबारको कारोबार रकम र नेप्से दुवैमा गिरावट आएको हो । असार लागेपछि बजार बढ्ने अपेक्षा गरेका लगानीकर्ता पछिल्लो समय ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन् ।

लगानीकर्ता दबाब समूहका महासचिव नयन बाँस्तोलाले भने १ हजार ९८ सम्म आयको नेप्से १ हजार ३४५ सम्म पुगेर केही दिनदेखि बजारमा नेप्सेसँगै कारोबार रकम पनि सँगै घट्दै गएको छ । बजेटमा धितोपत्र बजारलाई सुधार गर्न विभिन्न कुराको घोषणा गरियो तर, केही तŒवहरूले फैलाएको हल्लाले बजारलाई असर पारेकाले लगानीकर्ता दुविधामा परेको देखिन्छ । उनले अबका दिनमा सेयर बजारमा सुधार हुनेमा कुनै दुविधा नरहेको र बैंकहरूले पनि ब्रोकर लाइसेन्स पाइसकेको हँुदा अनावश्यक हल्लाको पछि नलागी आफ्नो आर्थिक अवस्था हेरी कारोबारलाई निरन्तरता दिनु उत्तम हुने बताए ।

कारोबारमा आएका कुल ११ वटा उपसमूहमध्ये तीनवटा उपसमूह बढ्दा आठवटा उपसमूह घटेका छन् । बैंकिङ शून्य दशमलव ४४ अंकले, विकास बैंक १.४६ अंकले र लघुवित्त ४.८५ अंकले बढेका छन् । त्यस्तै, यस दिन सबैभन्दा बढी घट्नेमा उत्पादन तथा प्रशोधन समूह रहेको छ । जसमा २१.६ अंकको गिरावट कायम भएको छ । होटेल १३.८६ अंक, जलविद्युत् १.४ अंक, वित्त २.१३ अंक, जीवन बिमा ५०.४१ अंक, निर्जीवन बिमा समूह २८.३५ अंक, अन्य ५.४४ अंक र म्युचुयल फन्ड ०.०७ अंकले घटेको छ ।

कारोबार रकममा तारागाउँ होटेलले अग्रता लिएको छ । तारागाउँको ४ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यद्यपि तारागाउँ रेजेन्सी होटेल (हायात) व्यवस्थापन नेप्सेलाई पत्राचार गर्दै आइतबारदेखि बन्द रहेको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट परेका छन् । यस दिन सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६. ९४५ का दरले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा समता माइक्रोफाइनान्सका लगानीकर्ता रहेका छन् । उनीहरूले ५.३८५ ले गुमाएका हुन् । त्यस्त,ै ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापन गर्ने सेन्सिटिभ परिसूचक ०.०३ अंकले घटेर २७०.२९ अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij