२०८३ साउन ९ शनिबार

स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धामा २४ समूह अन्तिम चरणमा

ई आर्थिक    बिहिबार, जेष्ठ २३ २०७६
3.6K
Shares
स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धामा २४ समूह अन्तिम चरणमा

ई–आर्थिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले शहरी समस्यालाई स्वतन्त्र र प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्न खुला गरेको प्रतिस्पर्धामा २४ समूह अन्तिम चरणमा पुगेका छन् । ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ का नाममा महानगरको शहरी योजना आयोगले छ महीनाअघिबाट शुरु गरेको प्रतिस्पर्धाका लागि चार विषय प्रस्तुत गरिएको थियो ।

विभिन्न छ चरणमा विभाजन गरिएको प्रतिस्पर्धाअन्तर्गत पहिलो चरणमा छनोटमा परेका सोचलाई विज्ञ समूहबाट करीब तीन महीना नियमित तालीम दिइएको थियो । ती मध्ये अन्तिम प्रतिस्पर्धामा पुगेका चार विषयका २४ समूह प्रतिस्पर्धीलाई विशिष्ट प्रकारको तालीम दिएर सोचमा निखार ल्याउन महानगरले मद्दत गरेको थियो।

यसमा विजेता पहिलो समूहले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछ। यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो। त्यस्तै प्रतिस्पर्धाका चार विषयगत विजेतालाई प्रतिसमूह रु दुई लाख र उपविजेतालाई जनही रु एक लाख प्रदान गरिने शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए।

विभिन्न चरणमा विषयको महत्व, उत्पादन क्षमता, व्यावसायिक नमूना, विस्तार योग्यता र प्रस्तुति एवं व्याख्या गरी छुट्टाछुट्टै पाँच आधारलाई सूचक मानेर मूल्याङ्कन गरिएको थियो। उनीहरुका प्रस्तुति शहरी समस्याका मुख्य चार विषयमा निर्धारण गरिएको छ। प्रतिस्पर्धाका लािग राखिएका विषयमा समुदाय तथा वातावरण, शहरी पूर्वाधार विकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन छन्। यस चरणमा आउनुअघि उनीहरुले पाँच चरण पार गरिसकेका छन्।

प्रतिस्पर्धाबाट आएका सोचबाट काठमाडौँका शहरी समस्या पहिचान हुने र ती समस्याको समाधानमा प्रविधिमैत्री उपाय पत्ता लाग्नेछन्। प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तनका लागि प्रविधिमैत्री आधार तयार हुने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij