स्तम्भ निर्माण गर्न रु एक अर्ब ८७ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर मचाकाजी महर्जनले जानकारी दिए। स्तम्भ निर्माणका लागि त्रिभुवन विश्वविद्यालयले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयसँगै जोडिएको काठमाडौँ महानगरपालिका–१४ गाङ्खेलको ६० रोपनी जग्गा दिने सहमति गरेको छ। सहमतिबमोजिम मन्त्रिपरिषद्ले निर्णय गरी स्तम्भका नाममा सो जग्गा छुट्याइसकेको छ।
स्तम्भ निर्मााणका लागि जग्गा विवाद भएको भनी केही पक्षले प्रचार गरे पनि विवाद नरहेको काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले बताए। स्थानीय तहको निर्वाचन हुनुअघि सर्वदलीय एवं सर्वपक्षीय सहमतिका आधारमा सो स्थान छनोट गरिएको उनले जानकारी दिए। स्तम्भ ९४ मिटर उचाइको हुने डिजाइन भएको छ। यसअघि १५० मिटर अग्लो स्तम्भ निर्माण गर्ने तयारी गरिएकामा ढाँचा परिवर्तन गरी ९४ मिटरमा झारिएको वरिष्ठ डिभिजनल इञ्जिनीयर महर्जनले बताए।
स्तम्भसँगै निर्माण गरिएको गणतन्त्र स्मारक भने निर्माण भइसकेको छ। स्मारक गणतन्त्र दिवसका दिन जेठ १५ गते बेलुकी ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन्। नारायणहिटी दरबारको उत्तरपूर्वी भागमा गणतन्त्र स्थापनाको प्रतीकका रुपमा स्मारक निर्माण भएको छ।