जानकी विहारका महन्थ नारायण शरणले मन्दिरको जग्गा बिक्री गरी राखेको रकम र मन्दिरमै रहेको सुन चाँदीलगायतको गरगहना लुट्नका लागि भारतको विहारबाट डाँकाहरुको समूह मोटरसाइकलमा जनकपुर पुगेका थिए ।
सुराकीको आधारमा प्रदेश प्रहरी, संघिय प्रहरी र जिल्ला प्रहरीको संयूक्त टोलीले खोजतलाश गर्दै जादा जनकपुरधाम स्थित लभली होटेलमा लुकिछिपी बसेका ८ जना डाँकालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
होटेललाई घेरा हालेर नियन्त्रण लिने क्रममा डाँकाहरुको तर्फबाट गोली फायरिंग भएपछि प्रहरीले समेत गोली चलाएको थियो । गोली चलाउँदा भारतको विहार राज्य समस्तीपुर जिल्लाका २४ वर्षीय रवि मलिक डोम घाइते भएका थिए ।
घाइते मलिकलाई दाँया र बाँया तिघ्रामा एकएक गोली र एक गोली पैतालामा गरी ३ गोली लागेको छ ।
प्रहरीले डाँकाहरुसंगमा रहेको ठूलो मात्रामा हतियार तथा २ थान मोटरसाइकल र एक थान स्कुटी समेत बरामद गरेको धनुषा प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा भारत समस्तीपुर गदोपुर बस्ने २० वर्षीय रवि मलिक डोम, सिमरी वडा नम्बर ८ विद्यापति नगर थाना बस्ने २० वर्षीय साहिल रजक विवेक, समस्तीपुर पटौरी वडा नम्बर ३ बस्ने २४ वर्षीय अजित कुमार सिंह, समस्तीपुर भगवनापुर चक्सीव वडा नम्बर ४ बस्ने २८ वर्षीय सुजित कुमार राय, समस्तीपुर महोदीनगर वडा नम्बर ६ बस्ने ३० वर्षीय अमितकुमार सिंह, महोदीनगर वडा नम्बर २ बस्ने २० वर्षीय अमितकुमार यादव, मधुवनी साहरघाट वडा नम्बर ५ बस्ने ३२ वर्षीय रंजितकुमार भगत र मधुवनी साहरघाट वडा नम्बर ८ बस्ने ३८ वर्षीय पप्पु भनिने संजयकुमार सुमन रहेका छन् ।