२०८३ साउन ९ शनिबार

भियतनामी प्रधानमन्त्री र प्रधानमन्त्री ओलीबीच वार्ता, के-के भयो वार्तामा ? 

ई आर्थिक    आइतबार, बैशाख २९ २०७६
4.1K
Shares
भियतनामी प्रधानमन्त्री र प्रधानमन्त्री ओलीबीच वार्ता, के-के भयो वार्तामा ? 
दीपेन्द्र अधिकारी, हनोई । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री न्गुएन जुवान फुकबीच हनोइस्थित प्रधानमन्त्रीको  कार्यालयमा शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली प्रिसिडेन्सियल हाउस पुग्दा भियतनामी प्रधानमन्त्रीले स्वागत गरेका थिए भने भियतनामी सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।

उनीहरुबीच समसामयिक राजनीतिक अवस्था तथा विकास  र समृद्धिका विविध आयामबारे छलफल भएको थियो । द्विपक्षीय विषय र चासो तथा क्षेत्रीयस्तरका विषयमा पनि उनीहरुबीच छलफल भएको नेपाली प्रतिनिधिमण्डलका सदस्य थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले जानकारी दिए ।

आगामी वर्ष २०२० मा हुने नेपाल भ्रमण वर्षमा नेपालले वैशाख दिवस आयोजना गर्ने जानकारी दिँदै प्रधानमन्त्री ओलीले ‘लुम्बिनी परियोजना निर्माण गरौँ’ भन्ने कार्यक्रममा हातेमालो गर्न भियतनामसँग आग्रह गरे । प्रधानमन्त्री ओलीले भियतनामी प्रधानमन्त्रीलाई अनुकूल समयमा नेपाल भ्रमणका लागि निम्तो पनि दिएका छन् ।

दुई प्रधानमन्त्रीले कूटनीतिक र सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा छुट दिने सम्झौता, दुई सरकारबीचको द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्र र व्यापार एवं लगानी ढाँचा सहमतिको आशयपत्रबारे  पनि छलफल गरेका छन् ।

सो अवसरमा भियतनामी प्रधानमन्त्री फुकले दुई देशबीच कृषि र पर्यटन क्षेत्रमा सहयोग वृद्धिबारे आफ्ना धारणा राखेको भियतनामी अधिकारीले जनाएका छन् । उनले आफू नेपालको समग्र विकासका लागि सहयोग गर्न इच्छुक भएको पनि बताए ।

प्रधानमन्त्री ओलीका साथ नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा भियतनामी सरकारका तर्फबाट मन्त्री, उपमन्त्री र उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए । प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य र भियतनामी प्रधानमन्त्री फुककी पत्नी ट्रान न्गुयट थुबीच पनि छुट्टै भेटघाट भएको बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij