कांग्रेसले संगठन सुदृढिकरणसँगै सरकारका गलत कामको पनि भण्डाफोर गरिने जनाएको छ। महासमिति बैठकबाट पारित गरिएको नीति तथा कार्यक्रम, संशोधित विधानबारे मात्र हैन कांग्रेसको नीति रणनीतिबारे पनि स्थानीय तहसम्म जानकारी गरिने भएको छ।
एकमहिने जागरण अभियान वैशाख २५ गते शुरु भई जेठ २५ गते सकिने छ। कांग्रेसले तीन चरणमा देशव्यापी जागरण अभियान सञ्चालन गर्दैछ। दोस्रो चरणको अभियान भदौ २४ बाट असोज ७ गते सम्म १५ दिन चल्ने छ । तेस्रो चरणको अभियान भने पुस ७ बाट पुस १६ सम्म १० दिन सञ्चालन हुनेछ।
सबै जिल्ला, क्षेत्र, गाउँ/नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियानका क्रममा सरकारविरुद्ध खबरदारी गर्ने कांग्रेसको रणनीति छ। ‘सरकारका भ्रष्टाचारलगायत अनेक विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले प्रस्ट्याउने काम हुन्छ’, जागरण अभियानबारे कांग्रेसद्वारा विज्ञप्तिमा उल्लेख छ।
पहिलो चरणको जागरण अभियानका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ।
अभियानमा स्वागत मन्तव्य र कार्यक्रम विसर्जनबाहेक तीन जना मात्र वक्ता हुनेछन् भने महिला वक्ता अनिवार्य गरिएको छ। त्यस्तै कांग्रेसले पार्टी कार्यक्रममा माला, ब्याज र खादा लगाउने प्रचलनको पनि अन्त्य हुने जनाएको छ। कार्यक्रमको उद्घाटन वरपीपल, स्वमीमध्ये कुनै एक बिरुवा रोपेर गरिनेछ।
कांग्रेसले १२ भाषामा जागरण गीत तयार गरेको छ। गीतको रचनाकार पार्टी प्रवक्ता शर्मा हुन्। मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा र नेपाली भाषामा गीत तयार गरिएको छ’, प्रवक्ता शर्माले भने। पहिलो चरणको जागरण अभियानका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ। अभियान सफल बनाउन कांग्रेसले सबै भ्रातृसंस्थालाई परिचालन गरिएको जनाएको छ।
कांग्रेसले राष्ट्रिय जागरण अधियानलाई प्रभावकारी बनाउन सातै प्रदेशमा जनप्रतिनिधिलाई प्रशिक्षण र ‘काँग्रेस मेला’ आयोजना गर्ने भएको छ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले १२ वटा कार्यक्रम सार्वजनिक गर्दै सो खाका बाहिर ल्याएको हो। मेलामा काँग्रेसको इतिहास, संस्थापक नेताहरूको तस्बिर, ऐतिहासिक तस्बिर, पुस्तकहरू तथा अन्य दस्तावेज राखिने छन्।
कांग्रेसद्वारा घोषित राष्ट्रिय जागरण कार्यक्रमलाई पूर्णरूपमा सफल पार्न र यसकालागि सहयोग पुग्नेगरी प्रतिष्ठानका कार्यक्रमहरू समन्वयात्मक रूपमा सञ्चालन गर्न लागिएको हो।
प्रतिष्ठानका अनुसार, संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा रहेका काँग्रेसका सांसद्का लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने र पार्टीका महाधिवेशन प्रतिनिधिहरूको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सातवटै प्रदेशमा गर्नेछ।
सातवटै प्रदेशका पार्टीका प्रदेश सभा सदस्यहरूका लागि प्रदेशस्तरीय संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने, काँग्रेसबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाडौंमा आयोजना गरिनेछ।
यसैगरी, पार्टीका भ्रातृ एवं शुभेच्छुक संघ संस्थालाई प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने गराउने, विदेशस्थित जनसम्पर्क समितिहरूमा आवद्ध व्यक्तिलाई प्रशिक्षणको कार्यक्रम आयोजना गरिने बताइएको छ।
कांग्रेसले नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली काँग्रेसको इतिहासको जानकारी दिन र काँग्रेसमा नयाँ पुस्तालाई आकर्षित गराउन १३ वर्षदेखि १८ वर्षका विद्यार्थी र १९ वर्षदेखि २८ वर्षसम्मका युवाका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।