२०८३ साउन ११ सोमबार

एलपी ग्यासको दोहोरो मूल्य कायम गर्न सांसदहरुको माग

ई आर्थिक    बिहिबार, बैशाख १९ २०७६
5.4K
Shares
एलपी ग्यासको दोहोरो मूल्य कायम गर्न सांसदहरुको माग

काठमाडौ । सांसदहरुले खाना पकाउने एलपी ग्यासको दोहोरो मूल्य कायम गर्न माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गत्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकमा सांसदहरुले घरायसी र व्यापारिक प्रयोजनमा प्रयोग हुने ग्यासको मूल्य फरक–फरक गर्न माग गरेका हुन् ।

सत्तारुढ नेकपाका सांसद कृष्णकुमार श्रेष्ठले व्यावसायिक प्रयोजनका लागि खाना पकाउने ग्यासमा भ्याट छुटको व्यवस्था रहेकाले घरायसी प्रयोगकर्तालाई सुलभ हुने गरी व्यावसायिक र व्यक्तिगतलाई छुट्टाछुट्टै मूल्य कायम गर्न माग गरे ।

उनले यसअघि नीलो र रातो रङका ग्यास सिलिन्डर प्रयोगमा ल्याइएको भए पनि कमिसनका कारण सफल हुन नसकेको भन्दै अब व्यवसायीलाई दिइँदै आएको भ्याट फिर्ता बैंक अकाउन्टमार्फत् हुने व्यवस्था गर्नुपर्ने धारणा राखे ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले काठमाडौं उपत्यकामा रहेका मापदन्डविपरीतका पेट्रोलपम्प सरकारले हटाउन नसकेको भन्दै आलोचना गरे । बैठकमा समितिका सदस्यहरुले नेपाल आयल निगमको डिपो स्थापना गर्न जग्गा खरिदमा भएको अनियमितताबारे पनि प्रश्न उठाएका थिए ।

सांसदहरुले २०७२ साल चैत १९ गते समितिले दिएको ग्यास उद्योग दर्ता रोक्न निर्देशन कार्यान्वयनबारे आयल निगमका पदाधिकारीसँग चासो राखेका थिए । समितिले पेट्रोलपम्प र नयाँ ग्यास उद्योग स्थापनाबारे छलफल गर्न आयल निगमका पदाधिकारीलाई बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij