ई–आर्थिक, काठमाडौं । यती एअरलाइन्सले चौथो एटीआर ७२–५०० विमान भित्र्याएको छ । आफ्नो बिमान संख्या तथा सेवा बिस्तार गर्ने क्रममा सो जाहाज भित्र्याएको हो ।
उत्पादन क्रम संख्या एमएसएन ७५४ तथा नेपाली रजिष्ट्रेशन नं. ९एन–एएनसी रहेको उक्त बिमान थाइल्याण्डको राजधानी बैंङ्ककबाट उडेर शुक्रबार दिउँसो १ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरेका थियो ।
भिजिट नेपाल– २०२० बर्षमा नेपाल सरकारको २० लाख पर्यटक आगमनको लक्ष्य हासिल गर्न थपिएका विमानहरुले मद्दत गर्नेछन् भन्ने विश्वास यति एअरलाइन्सले लिएको छ ।
एटीआर ७२–५०० एक फ्रान्सेली–इटालियन कन्सोर्टियम एटीआरद्वार निर्मित ट्वीन इन्जिन टर्बोप्रोप विमान हो । यसको सर्वश्रेष्ठ निर्माण र प्रदर्शनका कारण एटीआर ७२ विश्वमै सवै भन्दा सफल क्षेत्रिय क्यारियर बनेको एयरलाइन्सले जानकारी दिएको छ । साथै एटीआर ७२ ले विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउदै गइरहेको पनि सो एयरलाइन्सको विज्ञप्तीमा उल्लेख छ ।
एटीआर ७२–५०० दुई प्राट एण्ड व्हिट्नी पीडब्ल्यू १२७ इन्जिनहरूद्वारा संचालित छ र हामिल्टन सन्डस्ट्रान कम्पोजिट प्रोपेलरहरूबाट सुसज्जित छन् । यी उच्च प्रविधियुक्त इन्जिन र प्रोपेलरहरु उत्कृष्ट प्रदर्शन, इन्धन बचत, उल्लेखनिय ध्वनीको कमी र कम ग्रीन हाउस ग्याँस उत्सर्जन जस्ता कुरा सुनिश्चित गर्दछन् ।
एटीआर ७२–५०० विमानको सुप्रसिद्ध सञ्चालकहरुमा एयर न्यूजिल्याण्ड, एयर लिंगुस, एसएएस, एचओपी!, अजुल, बैंकक एयरवेज, इन्डिगो, मालिन्दो एयर आदी पर्दछ ।
यति एअरलाइन्सले सन् १९९८ देखि आफ्नो उडानको शुरुवात गरेको थियो । यतीसँग हाल एटीआर ७२–५०० वाहेक बीएई सिष्टमको जे४१, विमान ५ वटा र भगिनी संस्था तारा एअरको दुई वटा डोर्नियर डिओ२२८ र ४ वटा डिएचसी६ ट्विनअट्टर विमानबाट नेपालको सबैभन्दा ठूलो हवाई सञ्जालबाट आफ्नो सेवा प्रदान गरीरहेको छ ।