२०८३ साउन १२ मंगलबार

चिनियाँ होटेल र रेस्टुरेन्टमा उतैको एपबाट भुक्तानी

ई आर्थिक    बुधबार, बैशाख ११ २०७६
5K
Shares
चिनियाँ होटेल र रेस्टुरेन्टमा उतैको एपबाट भुक्तानी
नेपालमा रेकर्ड छैन चिनियाँ पर्यटक चिनियाँ व्यवसायीको होटेलमा बस्छन्, पसलमा किन्छन् र चीनकै खातामा पैसा पठाउँछन्  
दिवाकर पन्त, २०७६ बैशाख ११ बुधबार, काठमाडाैं : नेपालमा चिनियाँ नागरिकले सञ्चालन गर्ने होटेल तथा पसलहरूले भिच्याट तथा अलिपेजस्ता चिनियाँ डिजिटल वालेटमार्फत भुक्तानी लिने गरेका छन् । खासगरी नेपाल घुम्न आउने चिनियाँ पर्यटकसँग उनीहरूले चिनियाँ डिजिटल वालेटमार्फत भुक्तानी लिने गरेका हुन् ।त्यसरी लिएको भुक्तानी सीधै चीनकै खातामा जाने हुँदा नेपालमा रकम मात्रै होइन, रेकर्ड पनि रहँदैन । नेपाल राष्ट्रबैंकको अनुमतिविना हुने गरेको यस्तो भुक्तानी अवैधानिक भएको नेपाल राष्ट्र बैंकले बताएको छ । खासगरी चिनियाँभाषीकै होटेल तथा पसल धेरै रहेको ठमेल क्षेत्रमा यस्तो कारोबार बढी हुन्छ । भिच्याट र अली–पेजस्ता डिजिटल वालेट नेपालमा दर्तासमेत भएका छैनन् । तर, त्यसको प्रयोगमार्फत चिनियाँ व्यवसायीले विदेशी मुद्रा अपचलन गरिरहेका छन् ।‘अधिकांश चिनियाँ पर्यटकले पसल तथा होटेल सेवाबापत बिलको भुक्तानी गर्दा भिच्याट र अली–पेजस्ता इन्टरनेट सञ्जाल प्रयोग गर्छन्,’ एक नेपाली टुरिस्ट गाइडले भने, ‘नेपालीसँग भने उनीहरू डलर वा युआनमा कारोबार गर्छन् ।’ ‘चिनियाँ डिजिटल वालेटमार्फत त्यहाँका नागरिकबीच हुने कारोबारबाट देशले कुनै फाइदा लिन सक्दैन,’ पर्यटन बोर्डका एक अधिकारीले भने, ‘यसलाई नेपालको कानुनी दायरामा ल्याए मात्र पर्यटन उद्योगमा चिनियाँले गरेको कारोबारबाट फाइदा पुग्न सक्छ ।’

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भीष्म ढुंगानाका अनुसार भिच्याट र अली–पेलाई अनुमतिपत्र प्रदान गर्न प्रक्रिया सुरु भइसकेको छ । ती कम्पनीका नेपाली एजेन्टले अनुमतिपत्र पाउन राष्ट्र बैंकमा निवेदन दिएका छन् । एजेन्टले सेवा सञ्चालनका लागि ती कम्पनीसँग सम्झौता गरेर राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेपछि उनीहरूले वैधानिक रूपमा यहाँ कारोबार गर्न सक्ने ढुंगानले बताए ।

त्यसपछि राष्ट्र बैंकको नियमनअनुसार सफ्टवेयरमार्फत नेपालमा कारोबार हुन्छ । ‘त्यसको रेकर्ड नेपालमा हुन्छ, सेटलमेन्ट पनि नेपाली बैंकमार्फत नै हुन्छ । नेपाली बैंकमार्फत सम्बन्धित देशमा रकम जान सक्छ,’ उनले भने । अमेरिकी कम्पनी पेपालमार्फत नेपालमा हुने गरेको कारोबार पनि गैरकानुनी रहेको र कानुनी प्रक्रियामा ल्याउने प्रयास भइरहेको ढुंगानाले बताए ।

राष्ट्र बैंक भन्छ–गैरकानुनी हो, तर कारोबार रोक्न सकिँदैन
राष्ट्र बैंकले चिनियाँ डिजिटल वालेटबाट नेपालमा कारोबार हुनु गैरकानुनी भएको जनाएको छ । गैैरकानुनी हुँदाहुँदै पनि तत्काल कुनै कदम चालेर नियन्त्रणमा लिन नसकिएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भीष्म ढुंगानाले बताए । ‘यी वालेट चीनमा लोकप्रिय र कानुनी छन्,’ उनले भने, ‘तर, नेपालमा भने गैरकानुनी हुन् । हामी यसलाई बन्द गर्नेभन्दा पनि कानुनी दायराभित्र कसरी ल्याउने भन्नेमा छौँ ।’

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij