२०८३ साउन १० आइतबार

उदयपुर सिमेन्टको महाप्रबन्धकका उम्मेद्वारले व्यवसायिक कार्ययोजना आज पेश गर्ने, सर्टलिष्टका पाँचमा को–कस्ता ?

ई आर्थिक    बिहिबार, बैशाख ५ २०७६
6.3K
Shares
उदयपुर सिमेन्टको महाप्रबन्धकका उम्मेद्वारले व्यवसायिक कार्ययोजना आज पेश गर्ने, सर्टलिष्टका पाँचमा को–कस्ता ?

ई–आर्थिक, काठमाडौं । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा सर्टलिष्टमा छनौट भएका ५ जनाले आज व्यवसायिक कार्ययोजना पेश गर्ने भएका छन् ।

कार्ययोजनासँगै मामिला अध्ययनको प्रस्तुतिकरण र उनीहरुसँगको अन्तर्वार्ता पनि आजै हुने भएको छ । छनौट तथा सिफारिस समितिले कार्ययोजना पेश गर्न आज उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाहलमा उपस्थितिका लागि पाँचैजनालाई वोलाएको छ ।

सर्ट लिष्टमा छानिएका पाँचमा अनिलकुमार झा, डा. जनकबहादुर चन्द, तारानाथ पौडेल, रामबाबु शाह र रामाधिन यादव रहेका छन ।

उनीहरुले आज व्यवसायिक कार्ययोजना, अन्तर्वार्ता र प्रस्तुति पेश गर्नेछन । त्यसैको आधारमा पाँच मध्येबाट तीन जनालाई अन्तिम छनौट गरिने प्रावधान रेहेको छ । छनौट भएका अन्तिम तीन जना मध्येबाट एक जनालाई महाप्रबन्धक छनौट गरिने छनौट तथा सिफारिस समितिले जानकारी दिएको छ ।

सर्टलिष्टका रहेको सबैले आफू सक्षम रहेको दाबीका साथ शक्तिकेन्द्रहरुमा दौडधुप पनि बढाइरहेको बुझिएको छ ।

उद्योगको महाप्रबन्धकको लागि १५ जनाले आवेदन दिएको थिए । आवेदन दिने १५ जनामा डा. जनकबहादुर चन्द, रामबाबु साह, धुर्मुस देवकोटा, विनोद अधिकारी, अनिलकुमार झा, रामधिन यादव, मनप्रसाद न्याउपाने, शम्भुप्रसाद घिमिरे, टेकबहादुर राउत, तारानाथ पौडेल, हरेराम फुयाँल, रामदेव यादव, रामसागर यादव, परमेश घिमिरे र उद्धवप्रसाद तिमिल्सिना रहेका थिए ।

उक्त छनोट समितिले यिनै १५ उम्मेद्वार मध्येबाट ५ जनालाई सर्टलिष्टमा राखेर महाप्रबन्धक छनौट प्रक्रिया अगाडि बढाएको छ ।

पाँच सर्टलिष्टका को कस्ता ?

सर्टलिष्टमा परेका पाँच मध्ये पहिला नै उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक भएर असफल भएकादेखि पाको उमेर सम्मका रहेका छन् ।
सर्टलिष्टको पहिलो नम्बरमा छनौटमा परेका अनिलकुमार झा यसअघि पहिले पनि सो उद्योगमा महाप्रबन्धक भइसकेको व्यक्ति हुन । झा उक्त उद्योगमा २०६६ देखि ०६८ सालम्मका लागि महाप्रबन्धक बनेका थिए । उनको कार्यकालमा उद्योगले खासै गति लिन नसकेको बताइन्छ । उद्योगलाई जुन गतिमा चलाउनु पर्ने हो त्यस अनुरूप चलाउन नसकेपछि उनी आलोचित महाप्रबन्धक समेत भएका थिए ।

उनी यसअघि अर्को एक संस्थानमा समेत महाप्रबन्धक भइसकेका छन् ।

त्यस्तै सर्टलिष्टको दोस्रो नम्बरमा रहेका डा. जनकबहादुर चन्द खानी विभागको उपसचिव पदमा कार्यरत छन् । उनले जापानबाट पिएचडी गरेका छन् । सम्बन्धित क्षेत्रमा विज्ञता भएका डा. चन्दलाई उद्योगको सबैभन्दा संभावित र उपयुक्त उम्मेद्वारको रुपमा हेरिएको छ ।

रणनीतिक र सिर्जनशील कार्ययोजना बनाउन सिपालु उनले आफूलाई नेतृत्व गर्ने अवसर मिले उद्योगलाई राम्रो ढंगबाट चलाइदिने बताए । ‘उद्योगलाई कसरी चलाउनु पर्छ भन्ने विषयमा मसँग राम्रो कार्ययोजना र दक्षता रहेको छ ।’ उनले भने– ‘उद्योगको उत्कृष्ट व्यवस्थापन, उत्पादनको गुणस्तरका साथै उद्योगलाई राम्रो नाफामा चलाइदिन्छु ।’ त्यसका लागि आफू सक्षम रहेको पनि उनले बताए ।

त्यस्तै सर्टलिष्टको तेस्रो नम्बरमा परेका तारानाथ पौडेल नेपाल सरकारको सिंचाई सिभिल इन्जिनिय हुन । सो विभागमा उनले ३० वर्ष काम गरेका छन् ।

त्यसैगरी सर्ट लिष्टको चौथो नम्बरका रामबाबु शाह सरकारी सिमेन्ट उद्योगमै कार्यरत छन् । उनी हेटौडा उद्योगको खरिद विभागका प्रमुख हुन ।

सर्टलिष्टका पाँचौंमा परेका रमाधीन यादव रिटायार्ड निजामती कर्मचारी हुन् । उनी सहसचिबबाट रिटायर्ड भएका थिए । उमेरले अलिक पाका उनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवका नजिकका मान्छे भएको बुझिएको छ । संवैधानिक आयोगमा मन्त्री यादवसँगै रहेर काम गर्न इच्छा राखेका उनलाई मन्त्री यादवले नै आवेदन दिन लगाएको बुझिएको छ ।

एउटै व्यक्ति सबै संस्थानमा चाहार्ने प्रवृति र मन्त्रीको नजिकका व्यक्तिहरूका कारणले सक्षम, सिर्जनशील र नयाँ प्रतिभा ओझेलमा पर्छन की भन्ने आशंका समेत गर्न थालिएको छ ।

राउत सहित ७ सदस्य सञ्चालक समितिमा नियुक्त
यसैबीच उदयपुर सिमेन्ट उद्योगको सञ्चालक समितिको सदस्यमा ७ जना नियुक्ति भएका छन् । उद्योगको संचालक समिति सदस्यमा सुभाष राउत सहित ७ व्यक्तिलाई हालै नियुक्त गरिएको हो । राउत यसअघि पनि सञ्चालक समितिको सदस्य पदमा रही काम गरिसक्नुभएको छ ।

त्यसैगरी पदम दाहाल, सम्झना पाख्रिन, नरेश ढकाल, महेशलाल यादव, देवी बराल र कृष्णचन्द्र मण्डल नियुक्त भएका हुन । राउत, दाहाल र पाख्रिन उदयपुरका स्थानीय हुन भने ढकाल काठमाडौं, यादव धनुषा, बराल इलाम र मण्डल सप्तरीका हुन् । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्री स्तरको मिति २०७५/१२/२९ गतेको निर्णय अनुसार उनीहरु नियुक्त भएका हुन ।

उनीहरुलाई २०७६ बैशाख २ गतेबाट लागू हुनेगरी ३ वर्षको लागि नियुक्ति गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij