रोल्पा, त्रिवेणी गाउँपालिकामा करिब पाँच महिनादेखि लेखा कर्मचारी छैनन् । इन्जिनियरलाई लेखासमेत हेर्ने अधिकार दिएर खटाएको भए पनि अहिले उनको सरुवा भएपछि लेखासम्बन्धी सम्पूर्ण काम ठप्प भएको गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले जानकारी दिए । ‘साह्रै समस्या आएपछि आज केन्द्रमा मन्त्री लालबाबु पण्डितलाई नै टेलिफोन गरी समस्या टिपाएको छु,’ उनले भने, ‘एकजना कर्मचारी जसरी भए पनि खटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’ कानुनले खर्च गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई दिएका कारण लेखा अधिकृत नहुँदा विकास निर्माणदेखि कर्मचारीलाई तलब खुवाउनसमेत मुस्किल परेको ओलीको गुनासो छ ।
भोजपुर, हतुवागढी गाउँपालिकामा लेखा अधिकृत छैनन् । लेखापालको भरमा गाउँपालिकाको बजेट सञ्चालन भइरहेको थियो । लेखापालको पनि कर्मचारी समायोजनका वेला अन्तै सरुवा भइसकेका कारण तत्काल लेखा कर्मचारी नभए काम ठप्प हुने गाउँपालिका अध्यक्ष प्रेमकुमार राई बताउँछन् ।
तत्काल कर्मचारी भर्ना आवश्यक : महालेखानियन्त्रक कार्यालय
स्थानीय तहमा आर्थिक प्रशासन सञ्चालनका लागि तत्काल कर्मचारी भर्ना आवश्यक रहेको महालेखा नियन्त्रक कार्यालयका अधिकारीहरू बताउँछन् । ‘एकातर्फ बजेट बनाउने र अर्कोतर्फ आर्थिक वर्षको अन्तिममा हुने भुक्तानीको चाप सबै तहमा हुन्छ,’ उपमहालेखानियन्त्रक तथा कर्मचारी प्रशासन शाखा प्रमुख सुवासचन्द्र सिवाकोटीले भने, ‘त्यसकारण तत्काल थप कर्मचारी भर्ना सुरु गर्न आवश्यक छ ।’
यी जिल्लामा कर्मचारी अभाव
महालेखानियन्त्रक कार्यालयका अनुसार पूर्वी तराईका जिल्लामा लेखासँग सम्बन्धित कर्मचारीको चरम अभाव छ । समायोजन प्रक्रियामा पनि यी जिल्लामा कर्मचारीको कम आकर्षण देखियो । बारा र रौतहटका अधिकांश स्थानीय तहमा लेखा कर्मचारी अभाव देखिएको महालेखाको भनाइ छ ।
यसबाहेक पूर्वी पहाडी जिल्ला पाँचथर, भोजपुर र खोटाङका स्थानीय तहमा पनि लेखा कर्मचारी अपुग छ । मनाङ, मुस्ताङ, सल्यान र गुल्मीका स्थानीय तहले समेत लेखा कर्मचारीको अभाव झेलिरहेका छन् । रुकुम पूर्व, रोल्पा, हुम्ला, कालिकोट, मुगु, बझाङ र बाजुराका स्थानीय तहमा पनि लेखा कर्मचारी अभाव देखिएको महालेखाले जानकारी दिएको छ । तर, कुन जिल्ला/प्रदेशमा कति कर्मचारी अभाव छ भन्ने विस्तृत तथ्यांक अझै आउन बाँकी रहेको उपमहालेखानियन्त्रक सिवाकोटीले जानकारी दिए । अहिले नै पदपूर्ति प्रक्रिया नथाल्ने हो भने आगामी आर्थिक वर्षबाट समस्या झन् चर्कन सक्ने महालेखानियन्त्रक कार्यालयको निष्कर्ष छ ।
तत्काल कर्मचारी नखटाए काम ठप्प हुन्छ
प्रेमकुमार राई, अध्यक्ष,
हतुवागढी गाउँपालिका, भोजपुर
लेखाअधिकृतको दरबन्दी भए पनि एकजना लेखापाल मात्र केन्द्रले यहाँ खटाएको छ । बजेट बनाउने, कर्मचारीको तलबभत्ता, विकास निर्माण, अनुगमन, मूल्यांकनमा एकजना लेखापाल कहाँ–कहाँ खटिने ? उहाँको पनि समायोजनबाट अन्तै सरुवा भएको छ । अब नयाँ कर्मचारी तत्काल नदिने हो भने काम ठप्प हुने अवस्था छ । एकजना कर्मचारीमाथि धान्नै नसक्ने कार्यभार सरकारले थोपरिदिएको छ । यसबाट स्थानीय तह कसरी सक्षम हुन सक्लान् ?
तलबसमेत खुवाउन सक्ने अवस्था छैन
शान्तकुमार ओली, अध्यक्ष
त्रिवेणी गाउँपालिका, रोल्पा
चार–पाँच महिनादेखि गाउँपालिकामा लेखाका कर्मचारी छैनन् । अन्य विभागका कर्मचारीलाई लेखा हेर्न लगाएर काम चलाइएको थियो । समायोजनपछि कर्मचारीको सरुवा भयो । गाउँपालिकामा लेखा प्रशासनमा कर्मचारी छैनन् । लेखा कर्मचारी नहुँदा विकास निर्माणको भुक्तानीदेखि तलब खुवाउनसमेत सकिँदैन । आज मात्र मैले संघीयमन्त्रीसँग गुनासो टिपाएको छु । एकजना कर्मचारी खटाउने आश्वासन प्राप्त भएको छ ।
नयाँ पत्रिकाबाट