२०८३ साउन ९ शनिबार

प्याब्सनमा पुरी समूहको उम्मेदवारी घोषणा

ई आर्थिक    सोमबार, फाल्गुन २७ २०७५
4K
Shares
प्याब्सनमा पुरी समूहको उम्मेदवारी घोषणा

ई–आर्थिक, काठमाडौँ, २७ फागुन : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि टीकाराम पुरी समूहले आज उम्मेदवारी घोषणा गरेको छ ।

यहाँ पत्रकार सम्मेलन आयोजना गरेर पेशागत व्यावसायिक समूहबाट पुरीसमूहले उम्मेदवार घोषणा गरेको हो । अध्यक्षका उम्मेदवार पुरीले निजी क्षेत्रका विद्यालयमा देखापरेका समस्यालाई सम्बोधन गर्न आफ्नो समूहको उम्मेदवारी दिने बताउनुभयो ।

अर्को समूहबाट अध्यक्षमा डिके ढुङ्गाना उम्मेदवार बन्नुभएको छ । तर ढुङ्गाना समूहले अझै उम्मेदवारी घोषणा गरेको छैन ।

“राजनीतिक सङ्क्रमणकाल अन्त्य भए पनि पेशागत व्यावसायिक सङ्क्रमणकाल अझै सकिएको छैन”, पुरीले भन्नुभयो, “उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालय सञ्चालनमा प्रश्न चिह्न खडा गरेको छ । त्यसैले सबैलाई चिर्दै राष्ट्र र समाजप्रति निजीलाई थप उत्तरदायी बनाउनु आवश्यक रहेको छ ।” दुई वर्षभित्र राष्ट्रको मूलधारमा निजी विद्यालयलाई ल्याउने आफूले पहल गर्ने बताउनुभयो ।

घोषणासभामा पेशागत समूहतर्फबाट महासचिवका उम्मेदवार ईश्वरबहादुर गुरुङगले विभिन्न १४ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गर्नुभयो । प्रतिबद्धतामा कम्पनीमा सञ्चालित विद्यालय कम्पनीअन्तर्गत नै सञ्चालन गर्न पाउनुपर्ने व्यवस्थालाई स्थापित गराउने, सरकाद्वारा उच्च शिक्षामा उपलब्ध गराइने ४५ प्रतिशत आरक्षित छात्रवृत्तिमा संस्थागत विद्यालयसँग गरिएको विभेद अन्त्य गराउने, सरकारद्वारा ल्याइएको विद्यालयस्तरीय प्राविधिक शिक्षा कार्यक्रमलाई संस्थागत विद्यालयमा पनि समान ढङ्गले लागू गराउन सरकारसँग पहल गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सन्दर्भमा न्यून र मध्यम आय वर्गका विद्यालयले अहिलेकै अवस्थामा व्यवस्थापन गर्न नसक्ने भएको हुँदा सरकारसँग वैकल्पिक व्यवस्थापन गराउने जस्ता रहेका छन् ।

पेशागत समूहबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ, खुला उपाध्यक्षमा गोपाल आचार्य, कृष्ण खनाल, अनिलकुमार झा र दिपीका थापा, प्रदेश नं १ उपाध्यक्ष नारायण घिमिरे, प्रदेश नं २ उपाध्यक्षमा गोपाल कार्की, प्रदेश नं ३ उपाध्यक्षमा शान्तिविक्रम बानियाँ, गण्डकी प्रदेश उपाध्यक्षमा माधवशरण उपाध्याय, प्रदेश नं ५ उपाध्यक्षमा विष्णु पन्थी र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा फणिन्द्रराज विडारी उम्मेदवार बन्नुभएको छ ।

यस्तै महासचिवमा ईश्वरबहादुर गुरुङ, उपमहासचिवमा कुमार घिमिरे र कोषाध्यक्षमा मधु लोहनी उम्मेदवार बन्नुुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा मङ्गलबार महाधिवेशन हुनेछ ।

‘समृद्ध राष्ट्र निर्माणको मूल आधार, गुणस्तरीय शिक्षा छनोट मौलिक अधिकार’ भन्ने मूल नाराका साथ शुरु हुने महाधिवेशनमा दुई हजार ४३८ प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij