२०८३ साउन ९ शनिबार

पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड, पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन

ई आर्थिक    सोमबार, फाल्गुन २० २०७५
5K
Shares
पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड, पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन

ई–आर्थिक, काठमाडौँ, २० फागुन : महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् । आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व्यवस्था गरिएको छ ।

मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक÷एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तिसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक÷एक गरी दुई लाइनको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुुभयो ।

ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । दर्शनका लागि कुनै पनि किसिमका पासको व्यवस्था नगरिएकाले अन्य सबैले लाइन बसेरै दर्शन गर्नुपर्ने छ ।

दिउँसो भक्तजनको भीड बढी भएमा तिलगङ्गा–राम मन्दिरतिरबाट पूर्वढोका हुँदै मन्दिर प्रवेश गर्ने एक लाइनको व्यवस्था गर्ने गरी तयारी गरिएको सदस्य सचिव ढकालले बताउनुभयो । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान ७ बजे अघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नुपर्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

तिलगङ्गा, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुह्येश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । विमानस्थल–गौशाला–चाबहिल चक्रपथमा दर्शनार्थीको चापअनुसार सवारी एकतर्फी गरिने जनाइएको छ ।

हंसमण्डपमा भरत नाट्य र अन्य कलाकारले बिहानैदेखि भक्तिसङ्गीत कार्यक्रम प्रदर्शन शुरु गरेका छन् । आइतबारदेखि नै पश्चिम मूल ढोका अघि शिव र शक्तिसँग सम्बन्धित विद्युतीय झाँकी प्रदर्शन शुरु गएिको छ । पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ ।

मेलामा प्लाष्टिक झोला एवं सामग्री नल्याउन पनि कोषले भक्तजनमा आह्वान गरेको छ । फागुनकृष्ण चतुर्दशीमा पशुपतिनाथको शिवलिङ्ग उत्पत्ति भएकाले यस दिन शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

पशुपतिनाथसँगै आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर, वसन्तपुरस्थित शिव मन्दिरलगायत उपत्यका बाहिरका खोटाङको हलेसी धाम, अछामको वैजनाथ धाम, सिन्धुलीको कुशेश्वरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

महाशिवरात्रिको अवसरमा आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले दर्शन एवं पूजाआजा गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ ।

पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन गरिने

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भक्तजनको लामको व्यवस्था, सुरक्षा, आवास, तथा प्राथमिक स्वास्थ्योपचारलगायत सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो । पशुपतिनाथ पाश अर्थात् बन्धनमा परेका प्राणीका मुक्तिदाता मानिन्छन् । कैलाशनिवासी शिवले मृगस्थलीमा मृग रुप लिई धेरै वर्ष रमण गरेको पौराणिक कथामा वर्णन छ ।

पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र भीडभाड नियन्त्रणका लागि चार हजार स्वयंसेवक परिचालन हुने भएका छन् । कोषको ऐनमा नै पाशुपत क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्वमा समेतमा गाँजा, भाङ, जाँडरक्सी जस्ता नशालु पदाको बिक्रीवितरण, ओसारपसार एवं प्रयोगमा प्रतिबन्ध लगाइएको सचिव ढकालले बताउनुभयो ।

कोषले यस वर्ष दर्शनार्थीको सहजताका लागि चारैतर्फ लामको व्यवस्था मिलाएको छ । विगत वर्षमा मूल सभा समितिबाट नै सम्पूर्ण व्यवस्था हुन्थे । यस वर्ष एउटा एउटा विषयगत उपसमितिको गठन भई सेवा दिइने भएको कोषले जनाएको छ ।
त्यस्तै दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको छ । हंसमण्डप,वनकालीको खुला स्थान,तिलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकिएको छ । आवास क्षेत्रमा १०० संस्थाले नि ः शुल्क भोजन, पानी र चिया वितरणको व्यवस्था मिलाइएको छ ।

यस वर्ष शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तको सङ्ख्या वृद्धि भएको छ । इलाहावादस्थित प्रयागमा भएको कुम्भमेलालगत्तै महाशिवरात्रि परेकाले भारतीय पर्यटक बढेको कोषका मुख्य लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताउनुभयो । उनीहरुलाई यही फागुन २२ गते दानदक्षिणका साथ बिदाइ गरिने कोषले जनाएको छ ।

त्यस्तै पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि पाँच स्थान छुट्याइएको छ । यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ । दर्शनका लागि बिहान ३ः ३० बजेदखि नै पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिने कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij