ई–आर्थिक, काठमाडौं । स्वदेश भित्रै उद्योग व्यवसायी बढाई रोजगारीको बातावरण सिर्जना गर्ने हुँकार गरिरहेको सरकार विशुद्ध नेपाली लगानीकर्ताले लगानी गरी निर्माण गरिएको व्यवसायमा भइरहेको आक्रमणमा समेत मौन हुने गरेको छ । राज्यले निर्दिष्ट गरेको नियमको अधिनमा रहेर गरिएको अर्बौं रुपैयाँको लगानीमा नियोजित रूपमा आक्रमण थाल्दा समेत सरकारका निकायहरु मौन रहेका छन् ।
आ–आफ्नो स्वार्थमा छाँया सेन्टरमा नियोजित गिद्देनजर लगाइरहेको छायाँ सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले बताएका छन् । सरकारले वैदेशिक लगानी भित्र्याउन यही चैत १५ र १६ गते राजधानीमा नेपाल लगानी सम्मेलन गर्ने तयारी गरिरहेको छ । सरकारले व्यवसायीमैत्री सुरक्षा र नीतिगत व्यवस्था गर्न नसक्दा ठूला त्यसको केही समय अघि नेपाली लगानीकर्ताहरूले भने देशभित्रैको लगानी जोखिममा परेको गुनासो गरिरहेका छन् ।
स्वदेशी लगानीमा बनेका पूर्वाधार तथा आयोजनामा केही व्यक्तिको स्वार्थले आक्रमणको प्रयास हुन थालेपछि स्वदेशी लगानीकर्ता लगानी असुरक्षित भएको भन्दै पत्रकार सम्मेलन समेत गर्नुपरिरहेको छ ।
छाँया सेन्टरमा हुन थालेको योजनाबद्ध आक्रमण र षड्यन्त्रप्रति उद्योगी व्यवसायीले चिन्ता समेत व्यक्त गर्न थालेका छन् । यस्तो अवस्थामा निजी लगानीको सुरक्षाको प्रत्याभुत नभएसम्म विदेशी लगानी भित्र्याउन कठिन हुने पनि औल्याउन थालिएको छ ।
पर्यटकीय गन्तव्य ठमेलमा केही समयअघि सञ्चालनमा ल्याइएको छायाँदेवी कम्प्लेक्स अर्थात छायाँ सेन्टरलाई अहिले गलत प्रचारको शिकार बनाउन खोजिएको छ । प्रबन्ध निर्देशक श्रेष्ठले ठूलो लगानीमा सञ्चालनमा आएकै कारण छायाँ सेन्टरलाई स्वार्थका साथ नकारात्मक प्रचारको उत्कर्षमा पु¥याउन खोजिएको बताए । तीनदर्जन बढी स्वदेशी लगानीकर्ताको साढे पाँच अर्ब बढी लगानीमा सेन्टर निर्माण सम्पन्न भई गत डिसेम्बर २५ देखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो ।
ठमेलभित्रको ठमेलका रूपमा आएको ठूलो योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई तीव्र पारिएको श्रेष्ठले बताए । पैसा तिरेर जग्गा किनेर प्रोजेक्ट अघि बढाउँदा हामीलाई किन तारो बनाइँदैछ भन्ने कुरा यस अघिका केही आयोजनामा भएको घटनाक्रमले पुष्टि गरिरहेको उनको भनाई छ ।
निजी क्षेत्रबाट बनेका ठूला पूर्वाधारहरू निर्माण सम्पन्न भएपछि बखेडा उत्पन्न गरी गलत प्रचार गराइने गरेको पहिलो घटना छायाँ सेन्टरको मात्र होइन । यसअघि पनि ठूला अनि फरक प्रकृतिका आयोजनाहरूलाई केन्द्रमा राखेर गलत प्रचार गराइएका धेरै घटनाहरू छन् । यस्तो प्रचारको श्रृंखला एउटा विन्दुमा पुगेपछि सामसुम हुने गरेको छ । यसले आयोजना निर्माणपश्चात् स्वार्थका साथ सीमित समूहले लगानीकर्तालाई आतंकित पार्न खाजिएको तथ्यलाई चरितार्थ गर्छ ।
छायाँ सेन्टरको विषयमा इतिहासका पन्नाहरूलाई आधार बनाएर तत्कालीन कानुनी व्यवस्थाहरूलाई नै गलत सावित गराउन खेजिनु दुखद् भएको छायाँ सेन्टरका प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए ।
सरकारी निकायबाट पूरा गर्नुपर्ने सबै प्रक्रिया सकेर निर्माण गरिएको छायाँ सेन्टरलाई एकाएक किन आक्रमण गरिँदैछ ? जग्गा किनेको ६ वर्षपछि कम्प्लेक्स निर्माणको काम थाल्नु पहिले अहिले हल्ला गर्नेहरू किन मौन बसे ? हामीले २ वर्ष लगाएर वातावरणीय प्रभाव मूल्यांकन तथा सार्वजनिक सुनुवाइ गरेर छिमेकी तथा साँधसँधियारसँग सम्झौता गरी निर्माण थालिएको आयोजनालाई अहिले धारे हात लगाइनु आश्चर्यको विषय भएको प्रबन्ध निर्देशक श्रेष्ठले पत्रकार सम्मेलन जानकारी दिए ।
सम्पूर्ण कानूनी प्रक्रिया पुरा गरी लिएको जग्गामा पूर्वाधार निर्माण गरेको कम्प्लेक्सका अध्यक्ष पृथ्वीबहादुर पाँडेले यसअघि ईआर्थिकलाई जानकारी दिएका थिए ।
छाँयादेवी कम्प्लेक्स निर्माण गरिएको जग्गा ठमेल सिंह सार्थ गरुड भगवान बहाल गुठीबाट अम्विका राणाको नाममा नामसारी रैतानीदर्ता भएको उनले जानकारी दिए ।
उक्त गुठीले अम्बिका राणासँग १ करोड ५० लाख नगद र ०–४–० क्षेत्रफल जग्गा लिई जिल्ला अदालत काठमाडौंमा मिलापत्र भएको अध्यक्ष पाँडेले बताए ।
उक्त जग्गामा केशर शम्शेरले पर्खाल लगाई आफ्नो कम्पाउण्ड भित्र परेकोले गुठीको जग्गा खिचोला गरेको भनी काठमाडौं जिल्ला अदालतमा फिराद परे पश्चात काठमाडौं जिल्ला अदालतबाट मिति २०३०र१र२५ मा खारेज गरेको उक्त फैसला उपर पुनरावेदन परी ३०३१ साल असोज २५ गते काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको र सो फैसला उपर पुनरावेदनको अनुमति पाईसकेपछि सम्मानित सर्वोच्च अदालतमा मिति २०३३र९र३ मा केयुर शम्शेर मोही भई भोग चलन गरी खान पाउने गरी भगवान गुठीतर्फबाट सम्पूर्ण दावी छोडी मिलापत्र भएको पनि विभिन्न अभिलेखहरुबाट देखिन्छ । नापी कार्यालयमा समेत सो जग्गा मोही केयुर शम्शेर ज.ब.रा.को कायम भएको देखिएको छ । अम्बिका राण स्व. केयुर शम्शेर ज.ब.रा.को हकदार श्रीमती हुन ।
सो जग्गा मध्येबाट २०३९र३र१० मा ०–६–० सुधा पौडेललाई र २–१०–० क्षेत्रफल विना पौडेललाई केयुर शम्शेर ज.ब.रा.ले राजिनामा गरी लिखित पारित तिरी दिई कित्ताकाट भएको पनि अभिलेखमा देखिएको छ ।
विभिन्न मितिमा अदालतिका साथै विभिन्न प्राविधिक तथा कानुनी प्रक्रियाहरु पुरा गरी संरचना निर्माण थालिएको पाँडेले जानकारी दिए । आफूसँग प्राप्त जग्गाधनी पूर्जाकै आधारमा आफूले कम्प्लेक्स तयार गरेको उनले वताए ।
सबै निकायबाट नेपाल सरकारको प्रचलित कानुन बमोजिम अनुमति प्राप्त गरी बनाइएको छायाँ देवी कम्प्लेक्सलाई काठमाडौं महानगरपालिकाले २०६९ असोज ११ गते डि.पि.सी. निर्माणसम्मको नक्सा पास गर्न दिइएको महानगरपालिकाको अभिलेखले देखाएको छ । त्यसपछि क्रमशः विभिन्न मितिमा गरी महानगरपालिकाले स्थायी नक्सा, पास तल्ला थपको नक्सा पासका साथै २०७५ कात्तिक ८ गते भवन निर्माण सम्पन्नको प्रमाणपत्र दिएको थियो ।
यसरी बनाईएको यो सेन्टरलाई अनावश्यक विवादमा ल्याउन खोजिएको भन्दै सञ्चालकहरुले गुनासो समेत गरेका छन् । केही सञ्चारमाध्यममा कपोलकल्पित तथा भ्रामक समाचार सम्प्रेषण भएको भन्दै सो समाचारको पछि सरोकारबाला सम्बन्धित सबैमा सञ्चालकहरुले अनुरोध गरेका छन् ।
ठूलो लगानी र नयाँ अवधारणा सहित आएको यो सेन्टरले ठमेलको मात्रै हैन देशकै सौन्दर्य बढाएको व्यवसायीहरुले बताएका छन् । यसको निर्माण सम्पन्नसँगै नेपालकै महत्वपूर्ण पर्यटकीय केन्द्र ठमेलको सौन्दर्यता थप बढेको ठमेलका पर्यटन व्यवसायी रोशन कार्कीले बताए । यसले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न थप मद्दत पुगिरहेको उनको भनाई छ ।
छायाँदेबी कम्प्लेक्स प्रा.लि.ले तयार गरेको अत्याधुनिक सुविधा सम्पन्न सो कम्प्लेक्स अहिले छायाँ सेन्टरको नामबाट सञ्चालित छ ।
सेन्टरलाई प्रबद्र्धकहरुले ‘ठमेलभित्रको ठमेल’ का रुपमा प्रवद्र्धन गरेको अर्का एक सञ्चालकले जानकारी दिए । छाँया सेन्टर नेपालकै सबैभन्दा अत्याधुनिक र सुविधा सम्पन्न सपिङ कम्प्लेक्स भएको ती सञ्चालकको भनाई छ । उक्त कम्प्लेक्समा ठमेल बजारमा पर्यटनसँग जोडिएका सबै किसिमका सेवा एकै ठाउँमा उपलब्ध हुने भएकाले यसलाई ‘मिनी ठमेल’ को रुपमा प्रवद्धन गरिएको छायाँ सेन्टरले जानकारी दिएको छ ।
यसका प्रबद्र्धकहरुले पर्यटकीय व्यवसायिक गन्तव्यका रुपमा छाँया सेन्टरलाई स्थापित गरेका छन् । कम्प्लेक्समा तीन वटा मल्टिप्लेक्स थिएटरका साथै विभिन्न सामाग्रीका पसल, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्यांक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लब लगायत सुविधा पनि उपलब्ध छन् । यस्तै, बैंकका शाखा, कर्पोरेट कम्पनीका कार्यालयहरु पनि सेन्टरमा रहका छन् ।
करिब १५ रोपनी क्षेत्रफलमा बनेको यो व्यापारिक कम्प्लेक्स सन् २०१३ बाट निर्माण थालिएको थियो । पाँच बर्ष लगाएर निमार्ण गरिएको सेन्टरलाई अर्बौं लागतमा निर्माण गरिएको छ । उक्त कम्प्लेक्समा २३० वटा पसल युनिट, एउटा ७ सय जना अट्ने हल, मिटिङ रुम, फुट कोर्ट, तीनवटा सिनेमा हल रहेको छ ।
कम्प्लेक्समा तीन सय बढी सवारी पार्क गर्न मिल्ने अन्डरग्राउन्ड बेसमेन्टमा पार्किङस्थल निर्माण गरिएको छ । नेपाल इन्भेष्टेमन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेको नेतृत्वमा बैंकिङ, निर्माण, जलविद्युत, व्यापार, उद्योग, पर्यटन लगायत विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागितामा स्थापना भएको छाँया सेन्टर गएको पुस महिनादेखि सञ्चालनमा आएको थियो ।
सो सेन्टरमा ‘अलफ्ट काठमाडौं ठमेल’ नामको पाँचतारे होटल समेत निर्माणाधिन अवस्थामा रहेको छ । अन्तर्रा्ष्ट्रियस्तरको पाँचतारे होटल स्टारउडको अलफ्ट ब्राण्डबाट निर्माण हुने सो होटल निर्माणको लागि छायाँ सेन्टर र अलफ्ट बिजनेश होटलबीच दुइपक्षिय सम्झौता सम्पन्न भई धमाधम काम भइरहेको र ६० प्रतिशत बढी काम समेत सम्पन्न भइसकेको छाँया सेन्टरले जानकारी दिएको छ ।