ई–आर्थिक, काठमाडौं । नेपालको सबैभन्दा कान्छो तथा १९ औं जीवन बीमा कम्पनीको रुपमा स्थापना भएको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले विधिवत् कारोबार सञ्चालन गरेको छ । कारोबार शुभारम्भसंगै कम्पनीले बीमा समितिबाट स्वीकृति लिए अनुरुप ‘महालक्ष्मी डबल सावधिक बीमा’, ‘लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी सावधिक बीमा’ गरी तीन किसिमको बीमा योजना बिक्री गर्ने गरी सार्वजनिक ग¥यो ।
महालक्ष्मी डबल सावधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्ति पछि बीमाङ्कको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरिएको छ । दोश्रो लगानी फिर्ता म्यादी बीमा योजनामा बीमाशुल्क भुक्तानी पश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्ति पछि जम्मा गरेको बीमाशुल्क जस्ताको तस्तै फिर्ता भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ ।
त्यसैगरी तेस्रो महालक्ष्मी सावधिक बीमा योजना अन्तर्गत न्युनतम बीमाशुल्कमा सुरक्षा पनि पाइने, बचत पनि हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाइने रहेको छ । यी तीनवटै बीमा योजना मध्ये महालक्ष्मी डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना नेपालमा पहिलो पटक सार्वजनिक भएको एकदमै नौला बीमा योजना भएको कम्पनीको भनाई छ ।
कम्पनीले माघ भित्र काठमाडौं, वीरगंज, पोखराबाट कारोवार सुरु गर्दैछ भने इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुन दोस्रो साता भित्र कारोबार सञ्चालनको गर्ने तयारीमा रहेको छ । कार्यालय सजावट सकिए लगत्तै प्रधान कार्यालय र सातै प्रदेशमा कार्यालयहरु एकैपटक औपचारिक समुद्घाटनको तैयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिनुभयो ।
कम्पनीले बीमा समितिबाट १३ वटा शाखा कार्यालयको स्वीकृति लिए अनुसार फागुुन भित्र बाँकी विर्तामोड, इटहरी, लहान, नारायणगढ, बुटवल, दाङ्ग, सुर्खेत, कोहलपुर, धनगढी र जनकपुरमा शाखा कार्यालय खोलिसक्ने योेजना रहेको छ । २०७६ आषाढ भित्र मध्य पहाडी क्षेत्रका १२ वटा र काठमाडौं उपत्यका भित्र थप १० वटा समेत कूल ३५ वटा शाखा कार्यालय सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

कम्पनीकोे चुक्ता पूँजी रु. २०० करोड रहेको छ । संस्थापकहरुबाट रु. १४० करोड चुक्ता भइसकेको छ भने रु. ६० करोड सर्वसाधारणको लागि छुट्याइएको छ । कम्पनीको सञ्चालक समितिमा अध्यक्ष मनोरञ्जन रमण शर्मा र सञ्चालकहरु उमेश लाल श्रेष्ठ, मोहन राज जोशी र सुरेश सापकोटा रहनु भएको छ । यस कम्पनीकोे कारोबारको पूनर्बीमा विश्वकै अग्रणी म्युनिख री र अनिवार्य पूनर्बीमा नेपाल री सँग रहने छ ।
कम्पनीले आगामी आषाढ मसान्त सम्म ५ महिनामा करीब रु. ५० करोड बीमाशुल्क संकलन गर्ने लक्ष्य लिएर सम्पूर्ण कार्यक्रम सञ्चालन गरिरहेको छ । कम्पनी सञ्चालन भएको २ वर्ष भित्र १० वटा नयाँ बीमा कम्पनीहरु मध्ये पहिलो हुने र आगामी ५ वर्ष भित्र सम्पूर्ण जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट कम्पनी हुने लक्ष्य राखेको प्रमुख कार्यकारी अधिकृत भट्टराईको भनाई छ ।