२०८३ साउन ९ शनिबार

नेपालमा लगानी गर्ने उपयुक्त वातावरण भएको अर्थमन्त्रीको भनाई

ई आर्थिक    मंगलबार, माघ २२ २०७५
4.7K
Shares
नेपालमा लगानी गर्ने उपयुक्त वातावरण भएको अर्थमन्त्रीको भनाई

काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले साउदी अरेबियालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । आफूसँग शिष्टाचार भेटका लागि आउनुभएका साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानलाई मन्त्री डा खतिवडाले नेपालमा लगानीको उचित अवसर भएको बताउनुभएको हो ।

अर्थमन्त्री खतिवडाले पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । नेपालको सिँचाइ, ऊर्जा, भौतिक संरचना विकासका लागि साउदी कोषले सहयोग गरेकोमा साउदी सरकारलाई मन्त्री खतिवडाले धन्यवाद दिनुभयो । करीब चार लाख नेपाली कामदार साउदी अरेबियामा कार्यरत भएको भन्दै उहाँले साउदी सरकारले नेपालीलाई रोजगारी दिएर केही हदसम्म नेपालको गरीबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य र जनजीवनको सुधारमा महत्वपूर्ण भूमिका खेल्नुका साथै नेपालको अर्थतन्त्रमा समेत सहयोग पु¥याएको बताउनुभयो ।

मन्त्री खतिवडाले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनमा साउदी अरेबियाका लगानीकर्तालाई बढीभन्दा बढी सहभागी गराउन दूतावासमार्फत सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो ।नेपालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउन लागेकाले साउदी नागरिकलाई पर्यटकको रुपमा नेपाल भित्र्याउने र नेपाली कामदारलाई सिधै आवतजावत गर्न सहज हुने उल्लेख गर्नुभयो ।

भेटमा साउदी अरेबियाका राजदूतले साउदी फण्डमार्फत नेपालमा भूकम्पपछिको पुनःनिर्माण, शिक्षा, स्वास्थ्य र निजी आवास निर्माणमा सहयोग गर्न विभिन्न चरणका छलफल र वार्ता अघि बढेको बताउनुभएको थियो । नेपालमा लगानी र सहयोग गर्न साउदी अरेबिया तयार रहेको भन्दै राजदूतले दुवै देशबीच उच्चस्तरीय भ्रमण गरी सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij