काठमाडौँ, २ माघ : नेपाल र भारतका युवा उद्यमीको सहभागितामा यही माघ ५ गते काठमाडौँको होटल याक एण्ड यतिमा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ हुने भएको छ ।
भारतीय राजदूतावास र क्लक बि विजनेश इन्नोभेसनको आयोजनामा हुने सम्मेलनमा नेपाल र भारतका एक हजारभन्दा बढी युवा उद्यमी तथा विद्यार्थीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
भारतीय राजदूतावासका द्धितिय वाणिज्य सचिव कपिलध्वज प्रतापसिंहले सम्मेलनमा युवा उद्यमी, लगानीकर्ताबीच अनुभव आदानप्रदान हुने र उद्यमशीलताका विषयमा छलफल हुने भएकाले आपसी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा नेपाल र भारतका उद्यमी, लगानीकर्ता, व्यापारी, वकिल, लेखापरीक्षक, सरकारी प्रतिनिधि, विश्वविद्यालयका प्रतिनिधि र उद्यमशीलता सम्बन्धीका जानकार सहभागी हुने बताइएको छ ।
सम्मेलनका लागि सामाजिक सञ्चालमार्फत विभिन्न विषयमा योजनासहितको आवेदन सङ्कलन गरिएका र त्यसमध्ये उत्कृष्ट २१ योजनालाई छनोट गरिएको छ । त्यसलाई लगानीकर्ता र उद्यमीको अगाडि सम्मेलनका अवसरमा प्रस्तुत गरिने क्लाक बि विजनेश इन्नोभेसनका निर्देशक डिल्लीराज जोशीले जानकारी गराउनुभयो ।
अर्थमन्त्री डा युवराज खतिवडाले उद्घाटन गर्ने सम्मेलनमा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पूरीकोसमेत सहभागिता रहने र विषयविज्ञ आदित्य घोष, हेमराज ढकाल, रञ्जीत आचार्य, नरोत्तम अर्याल, सुशील पोखरेल, कपिलध्वज प्रताप सिंह, कुवेर चालिसेलगायत प्रमुख वक्ताका रुपमा रहने जानकारी दिइएको थियो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनिधि सीताराम दाहालले सम्मेलनले पर्यटन उद्योगको विकासमा टेवा पुग्ने भन्दै सरकारले सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।