निर्भीकजङ्ग रायमाझी, काठमाडौं । प्रविधिको उपयोग गर्दै यातायात क्षेत्रमा मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेका संस्था हुन्, ‘टुटल’ र ‘पठाओ’ । मोबाइल एप्लिकेशन र वेबसाइटको आधारमा यात्रुलाई गन्तव्यसम्म पु¥याउने काम गरिरहेका यी कम्पनीहरू प्रायः विवादमा आउने गर्छन् । सरकारले रातो नम्बर प्लेटको सवारीसाधनले व्यावसायिक काम गर्न नपाउने भन्दै उनीहरूमाथि पटकपटक कारबाही गरिसकेको छ ।
सोमवार विशेष सूचनाका आधारमा प्रहरीले टुटल र पठाओका चारओटा मोटरसाइकललाई कारबाही गरेको छ । ट्राफिक प्रहरी महाशाखाले बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गरेको छ, जसमध्ये तीनओटा मोटरसाइकल पठाओका र एउटा टुटलका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले निजी सवारीसाधनले पैसा लिएर यात्रु बोक्न नपाइने भएकाले कारबाही गरिएको जानकारी दिएका छन् ।
यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारीसाधनले उपदफा २ बमोजिम निजी सवारीसाधन यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेकाले सोहीअनुसार कारबाही गरिएको पन्तको भनाइ छ । कारबाही गरिएका मोटरसाइकल चालकलाई एक हजारसम्म जरीवाना गरिएको महाशाखाले बताएको छ । यसरी भाडामा यात्रु बोक्ने मोटरसाइकल धेरै रहेका भन्दै महाशाखाले यस्ता सवारीसाधनमाथि विशेष कारबाही अभियान शुरू गरेको हो ।
के भन्छन् सञ्चालकहरू ?
यसैबीच नयाँ परिकल्पना र आविष्कारलाई प्रयोग गर्दै स्वदेशमा नै रोजगारी दिने कम्पनीलाई पटकपटक सरकारले दुःख दिने गरेको बताउँछन्, पठाओका व्यवस्थापक शशांक थापा । थापाका अनुसार कानूनले यस किसिमको परिकल्पना नगरेकाले अहिले समस्या सृजना भएको हो । व्यक्तिगत चालकलाई पक्रेर दुःख दिएकोमा आपत्ति व्यक्त गर्दै थापा भन्छन्, ‘सरकारले कम्पनीसँग नै वार्ता गरी यस समस्यालाई सुरक्षित अवतरण गराउनु उत्तम हुन्छ ।’
विगत दुई वर्षदेखि राजधानीमा मोटरसाइकल र स्कुटरबाट आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको कम्पनी टुटलले पनि आफ्ना चालकलाई ट्राफिक प्रहरीले पटकपटक दुःख दिएकोमा खेद प्रकट गरेका छन् । टुटलका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टका अनुसार सन् १९९३ मा बनेको कानूनले अहिलेको मागलाई सम्बोधन गर्न नसक्ने बताउँदै अविलम्ब कानून परिवर्तन गरिनुपर्ने बताएका छन् ।
होटलका गाडी, कार्गोका लागि प्रयोग गरिएका गाडीको पनि रातो नम्बर प्लेट हुने बताउँदै भट्टले भने, ‘हामीले सयौंलाई रोजगारी दिइरहेका छौं । यसमा पुरानो कानूनले मनपरी अवरोध गर्न मिल्दैन ।’
प्रविधिको प्रयोग गर्दै राजधानीमा दुईपाङ्ग्रे यातायात व्यवसाय सञ्चालन गरिरहेको टुटल सन् २०१७ जनवरीमा स्थापना भएको थियो । उही प्रकृतिको पठाओलेचाहिँ २०१८ को सेप्टेम्बरदेखि सेवा शुरू गरेको थियो । हाल दुई लाखभन्दा बढी मोबाइल एप्लिकेशन दुवै कम्पनी सेवाग्राहीले डाउनलोड गरिसकेका छन् । उपत्यकाको अस्तव्यस्त यातायात चाप यी कम्पनीको आगमनपछि केही सहज भएको थियो । जसबाट राजधानीमा व्यस्त जीवनशैली भएका धेरै यात्रुलाई गन्तव्यसम्म पुग्न सहज भएको थियो ।
अभियानबाट