२०८३ साउन १० आइतबार

पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा

ई आर्थिक    बुधबार, पौस २५ २०७५
2.1K
Shares
पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा

फिदिम, २५ पुस : पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ ।

सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो । केही दिन अघिमात्रै फालेलुङ गाउँपालिकाको मच्छेबुङमा सोही बैंकले शाखा विस्तार गरेको थियो । तुम्बेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले स्थानीय तहमा बैंकको सेवा नहुँदा कार्यालय तथा सर्वसाधारणले सास्ती व्योहोर्नुपरेको र अब भने समस्या समाधान हुने बताउनुभयो ।

“योजनाको भुक्तानी फिदिम पुगेर लिनुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “शिक्षक तथा कर्मचारीले समेत सदरमुकाम पुगेर मात्रै तलब लिने गरेका थिए ।” गाउँपालिकाले प्रक्रिया मिलाएर प्राइम बैंकको शाखाबाटै सबै प्रकारका भुक्तानी दिने व्यवस्था गर्न लागेको छ । “सम्भव भएसम्म सामाजिक सुरक्षा भत्तासमेत सोही बैंकबाट प्रदान गर्ने लक्ष्य छ,” उहाँले भन्नुभयो ।

स्थानीय तह निर्माण भएपछि जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकामा सिभिल बैंकले शाखा विस्तार गरेको थियो । याङवरकमा सप्तकोशी डेभलपमेन्ट बैंकको शाखासमेत छ । हिलिहाङ र याङवरकले सिभिल बैंकको शाखाबाटै कारोबार गर्दै आएको छ । दक्षिणी मिक्लाजुङमा सरकारी स्वामित्वको कृषि विकास बैंक र फाल्गुनन्द गाउँपालिकामा नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा विस्तार भएको छ ।

फाल्गुनन्द गाउँपालिकाले फिदिममा रहेको नेपाल बैंकबाटै निकासा दिने गरेको छ । यी स्थानीय तहमा अन्य बैंकका शाखासमेत स्थापना भइसकेका छन् । कुम्मायक गाउँपालिकामा मेघा बैंकको शाखा स्थापना भएको छ । गाउँपालिकाले यही बैंकबाट बैंकिङ कारोबार गर्दै आएको छ ।

तुम्बेवा गाउँपालिकामा स्थापना भएको बैंकको शाखा उद्घाटन गर्दै गाउँपालिका प्रमुख होमनाथ थापाले स्थानीयस्तरमै बैंकिङ सेवा प्राप्त हुँदा स्थानीयवासीलाई ठूलो राहत मिल्ने बताउनुभयो । स्थानीय तहमा बैंकिङ सेवा नहुँदा सयौँ विकास निर्माणका योजनाको सम्पूर्ण कार्य स्थानीय तहमै सम्पन्न भए पनि निकासा लिन भने सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । विप्रेषणका लागि समेत सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij