२०८३ साउन १० आइतबार

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीद्वारा पदभार ग्रहण, सेवा गुणस्तरीय बनाइने

ई आर्थिक    मंगलबार, पौस २४ २०७५
12.3K
Shares
टेलिकमका प्रबन्ध निर्देशक अधिकारीद्वारा पदभार ग्रहण, सेवा गुणस्तरीय बनाइने

काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नुभयो । उहाँलाई नेपाल सरकारको २०७५ पुस १९ गतेको निर्णय वमोजिम ३ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो ।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गर्नुभयो ।

सो अवसरमा उहाँले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजनाहरु अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न कर्मचारीहरुलाई आह्वान गर्नुभयो । उहाँले काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमितता जस्ता कुरामा कसैसँग सम्झौता नगरिने बताउनु भयो ।

उहाँले परिवर्तनशील प्रविधि र ग्राहकको माग तथा चाहनामा हुने परिवर्तनलाई समयानुकुल सम्बोधन गर्दै लैजाने, ब्याकबोन नेटवर्कलाई भरपर्दो र गुणस्तरीय बनाइने, फोरजी परियोजनालाई समयमा सम्पन्न गरिने, १ करोड लाइन क्षमताको टुजी र थ्रीजी परियोजनालाई यथाशीघ्र सम्पन्न गरिने, मोबाइल डाटाको प्रयोग बढाउनका लागि कार्यक्रम ल्याइने, एफटीटीएच सेवालाई मूख्य सहरहरु तथा पकेट क्षेत्रहरुमा विस्तार गरिने र कपर नेटवर्कलाई प्रतिस्थापन गरिने बताउनु भयो ।

त्यसैगरी कर्पोरेट र इन्टरप्राइज बिजनेसलाई विशेष जोड दिइने, मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क तयार गर्ने कार्यमा शीघ्रता ल्याइने र मोबाइल फाइनान्सियल सेवा तथा आईपी टीभी सेवालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

पदबहाली कार्यक्रममा नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशकहरु, निर्देशकहरु, प्रबन्धकहरु, अन्य बरिष्ठ अधिकृतहरु, आधिकारिक टे«डयुनियनलगायत कम्पनीमा आवद्ध अन्य कर्मचारी युनियनका पदाधिकारीहरु एवं कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।

प्रबन्ध निर्देशक अधिकारी यस अघि प्रबन्ध निर्देशकको कार्यालयमा प्रबन्धक पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँ तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा २०५९ फागुन २२ गते टेलिकम इन्जिनियर पदमा प्रवेश गर्नुभएको थियो । उहाँ २०६५ मा बरिष्ठ इन्जिनियर, २०७० मा उप–प्रबन्धक र २०७५ बैशाख १६ देखि प्रबन्धक पदमा कार्यरत हुनुहुन्थ्यो । यस बीचमा उहाँ कम्पनीका विभिन्न निर्देशनालय र विभागहरुमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँमा एक्सेस नेटवर्क, ट्रान्समिसन नेटवर्क, वायरलेस ब्रोडब्यान्ड एक्सेस, अन्तर्राष्ट्रिय व्यापार, ब्याकबोन ट्रान्समिसन आदि क्षेत्रको साथै कम्पनीको सह–प्रवक्ता र नोडल अधिकृत समेतको कार्य अनुभव रहेको छ । उहाँले २०६२ मा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा विशिष्ट श्रेणीमा एमएस्सी गर्नुभएको हो ।

त्यसैगरी २०५८ मा पुल्चोक क्याम्पसबाटै इलेक्ट्रोनिक्स इन्जिनियरिङमा विशिष्ट श्रेणीमा बीई गर्नुभएको थियो । उहाँका टेलिकम सेवा, पूर्वाधार, चुनौती र भविष्यका रणनीति आदि विषयमा विभिन्न लेख समेत प्रकाशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij