ललितपुर : प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले मालवाहक यातायातमा आलोपालो प्रणाली नरहेको बताउनुभएको छ ।
ट्रक यातायात व्यवसायी सङ्घ, काठमाडौँको आठौँ अधिवेशनको उद्घाटन गर्दै मन्त्री जम्मकट्टेलले यात्रुवाहक, मालवाहक र निजी यातायातलाई हेर्ने सरकारी दृष्टिकोण छुट्टै हुनुपर्ने भन्दै प्रदेश सरकारले यसमा गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।
उहाँले सरकारले हालै पारित गरेको सवारी व्यवस्थापन तथा सञ्चालन गर्न बनेको ऐन अझै पूर्ण हुन नसकेको भन्दै व्यवसायीको सुझावसहित संशोधन गरिने बताउनुभयो । उहाँले धादिङको धुनिबेंसीमा ट्रक पार्किङको व्यवस्था मिलाउन लागेको र भारतीय ट्रकले निम्त्याएको समस्या समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
ट्रक यातायात व्यवसायी सङ्घ काठमाडौँका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले नेपालमा सञ्चालित ७० हजार ट्रकले वार्षिक ‘टिडिएस’ मात्र कम्तीमा रु सात अर्ब तिर्ने गरेको भए पनि सरकारले व्यवसायीका समस्यामाथि खासै प्राथमिकता नदिएको गुनासो गर्नुभयो ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष अर्जुन रानाभाट, ट्रेड युनियन, व्यवसायीलगायतले तौलपुलको पूर्ण कार्यान्वयन, व्यावसायिक सुरक्षालगायतका विषयमा जोड दिनुभयो ।