चालू आवका लागि विनियोजित बजेट समेत दुरूपयोगको आशंकामा सैनिक मूख्यालयले अघिल्ला प्रधानसेनापति राजेन्द्र क्षेत्रीका पालामा तय गरिएका सैनिक संरचना निर्माण सम्वन्धि कार्यक्रम समेत संसोधन गरेको छ । अव आवश्यकता र प्राथमिकताका आधारमा कार्यक्रम तर्जुमा गरिने प्रधानसेनापति पूर्णचन्द्र थापाले स्पष्ट पारेका छन् ।
नेतृत्व सम्हालेको सय दिनको अवसर पारेर आयोजना गरिएको आन्तरिक ब्रिफिङमा सोमबार प्रधानसेनापति थापाले यसअघि निर्माण गरिएका भौतिक संरचनाको गुणस्तरमा अधिकांश सैनिकको असन्तुष्टि रहेको पनि खुलासा गरेका छन् । पछिल्लो १० वर्षमा बंकरबाट ब्यारेक निर्माणमा १० अर्ब रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ भने विनासकारी भूकम्पपछि मात्रै देशभरका व्यारेक पुननिर्माणमा अर्बौं रूपैया सेनाले पाएको छ ।
देशभर सेनाका ब्यारेक तथा कार्यालयको संख्या १० हजारभन्दा बढी छ । पुनर्निर्माण बजेटबाट सेनाले सैनिक मुख्यालय, सैनिक प्रहरी गण, भैरवनाथ गण, वीरेन्द्र अस्पताल छाउनी, गणेशदल गण (तोपखाना) लगायत देशभर ५ हजार ८ सय ५० संरचना बहुवर्षीय परियोजनाअन्तर्गत निर्माणकार्य जारी राखेको छ ।
अघिल्ला ३ सेनापतिको ८ वर्षे कार्यकालमा ३ हजार ८३ वटा संरचना बंकरबाट ब्यारेक कार्यक्रमअन्तर्गत निर्माण गरिएको सेनाको तथ्यांकमा उल्लेख छ । यी संरचनाको गुणस्तर पनि कमजोर रहेको अनुगमन तथा निरीक्षणबाट पाइएको सैनिक स्रोतको भनाइ छ । विनासकारी भूकम्पले क्षति पु¥याएका तथा बंकरबाट ब्यारेक कार्यक्रमअन्तर्गत अझै २ हजार ७ सय भन्दा बढी संरचना निर्माण हुँन बाँकी छ । यसका लागि पनि अर्बौं रुपैयाँ लाग्ने सेनाले जनाएको छ ।
“यसअघि इन्जिनियरिङ विभाग वा स्थपति निर्देशनालयलले गर्ने निर्माणको स्तर र तौरतरिकामा हामी सबैजसोको असन्तुष्टि रहँदै आएको हो,” सैनिक मुख्यालयमा १ घण्टा लामो निर्देशनका क्रममा प्रधानसेनापति थापाले भनेका छन्, “यौटा व्यक्तिको कुकर्मले नेपाली सेनाको शाख ओझेलमा पर्नु अन्य पौरखी र मेहनेतिका लागि सरासर अन्याय हो,”प्रधानसेनापति थापाले सबै ब्यारेक निर्माणको गुणस्तरियता र लागत बजेटबारे केन्द्रबाटै विशेषज्ञ टोलीले अनुगमन तथा निरीक्षण गर्ने बताए ।
आर्थिक अनियमितता नियन्त्रण र जवाफदेही बनाउँनकै लागि सैनिक मुख्यालयले चालू आबबाटै ब्यारेक निर्माण जिम्मेवारी स्थानीय कमाण्डरलाई दिएको छ । जबकी यसअघिका सेनापति क्षेत्रीले मुलुकभरका भौतिक संरचना संरचना जंगीअड्डाकै खटनपटनमा निर्माण गराउँदै आएका थिए ।
“अव भवन निर्माणमा स्थपति निर्देशनालय र स्थानीय कमाण्डरको दायित्व के हुने भन्नेमा स्पष्ट निर्धारण हुनुपर्ने र सम्वन्धितलाई आ–आफ्नो दायित्वप्रति उत्तरदायी र जवाफदेही बनाउँन सकिने गरी आवश्यक कार्य क्षेत्र निर्धारण गर्न निर्देशन दिइएको छ,” प्रधानसेनापति थापाले भनेका छन्, “कम्तीमा अब बन्ने भवनहरू साधारण मर्मत गर्दा पनि ५० वर्ष टिक्ने हुनुपर्छ ।
कल्याणकारी कोषबाट बनेका पूर्वाधारको पनि गुणस्तर त्यसै अनुसार हुनुपर्छ ।” प्रधानसेनापति थापाले बजेट दुरूपयोग नै संगठनभित्र देखिएका विकृति र समस्याको जड रहेको बताएका छन् । अब अनियमितता, हिनामिना तथा गैरकानुनी गतिविधिमा संलग्नलाई कडा कारबाहीको नीति लिइएको उनले स्पष्ट पारेका छन् ।
कारोबारबाट