२०८३ साउन १० आइतबार

तनहुँ उद्योग वाणिज्य सङ्घको साधारणसभा, समृद्ध देश बनाउने अभियानमा सबै लाग्नुपर्नेमा जोड

ई आर्थिक    आइतबार, पौस ८ २०७५
4.7K
Shares
तनहुँ उद्योग वाणिज्य सङ्घको साधारणसभा, समृद्ध देश बनाउने अभियानमा सबै लाग्नुपर्नेमा जोड

दमौली : पूर्वअर्थमन्त्री डा रामशरण महतले राजनीतिक पूर्वाग्रहबाट माथि उठेर समृद्ध देश बनाउने अभियानमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

तनहुँ उद्योग वाणिज्य सङ्घको ३३औँ साधारणसभाको आज दमौलीमा उद्घाटन गर्दै पूर्वअर्थमन्त्री महतले समृद्ध मुलुक बनाउने अभियानमा निजी क्षेत्रको सहयोग हुनुपर्ने बताउनुभयो ।

सरकार एक्लैले देश समृद्ध बनाउन नसक्ने चर्चा गर्दै महतले समृद्धिको अभियानमा सबै होमिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “देशको समृद्धिका लागि सारा शक्ति परिचालित हुनुपर्छ । यसमा निजी क्षेत्रकोसमेत सक्रिय सहभागिता रहोस् ।”

नेपालमा कृषि, पर्यटन, जलविद्युत्मा सम्भावना रहेकाले त्यसलाई वास्तविकतामा परिणत गर्न उद्यमशीलताको आवश्यकतापर्ने र त्यसका लागि निजी क्षेत्रको लगानीबाट मात्रै सम्भव हुने महतको भनाइ थियो ।

प्राकृतिक स्रोतले मात्रै मुलुक धनी नबन्ने चर्चा गर्दै पूर्व अर्थमन्त्री महतले प्राकृतिक स्रोतलाई परिचालन गर्न सकेमात्रै मुलुक धनी बन्नसक्ने बताउनुभयो । “प्राकृतिक स्रोतले मुलुक धनी बन्ने भए रुस र ब्राजिल विश्वकै सबैभन्दा धनी हुन्थ्यो तर सबैभन्दा आर्थिक वृद्धि हासिल गर्ने मुलुक रुस र ब्राजिल होइन”, उहाँले भन्नुभयो, “छिटो आर्थिक विकास त जापान, हङ्कङ र सिङ्गापुरले ग¥यो ।”

काङ्ग्रेस नेतृत्वको सरकारले देश विकासका लागि धेरै काम गरेको चर्चा गर्दै महतले त्यसकै जगमा अहिले नेपाल हिँडिरहेको दाबी गर्नुभयो । “विसं २०४६ साल अगाडि ९ प्रतिशतको घरमा बिजुली पुगेको थियो, अहिले ८० प्रतिशतको घरमा बिजुली पुगेको छ । ३५ प्रतिशत जनता खानेपानीको पहुँचमा रहेकामा अहिले ८६ प्रतिशत जनताले स्वच्छ खानेपानी उपयोग गर्न पाएका छन्”, उहाँले भन्नुभयो, “यो सबै उद्धार अर्थनीतिका कारणले भएको हो, त्यसको जग काङ्ग्रेसले बसालेको थियो ।”

तनहुँ हाइड्रो छिटो निर्माण हुनुपर्ने 

पूर्वअर्थमन्त्री महतले तनहुँ जलविद्युत् आयोजनामा देखिएको अन्योलको वातावरण समाधान गर्दै शीघ्र निर्माण शुरु गर्नुपर्नेमा जोड दिनुभएको छ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको सिएमसीका कर्मचारी पक्राउ परेपछि तनहुँ जलविद्युत् आयोजनामा समेत अन्योलको सिर्जना भएकाले यसको छिटो समाधान गर्नुपर्नेमा उहाँको जोड थियो ।

सरकारले ठूला आयोजनाबिना प्रतिस्पर्धा ठेक्का दिने तयारी गरेकामा विरोध जनाउँदै महतले अपारदर्शी ढङ्गबाट काम नगर्न सरकारलाई आग्रह गर्नुभयो । बूढीगण्डकी जलविद्युत् आयोजनाबिना प्रतिस्पर्धा विवादास्पद कम्पनीलाई दिने तयारीले सरकारको सुशासनको नारालाई नै गिज्याउने उहाँको भनाइ थियो ।

सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका अध्यक्ष सञ्जिव कोइराला, केन्द्रीय सदस्य देवकुमार श्रेष्ठलगायतले सरकारको समृद्धिको अभियानमा निजी क्षेत्रको भूमिका रहनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij