२०८३ साउन १० आइतबार

कर्णालीका १७ स्थानीय तह बैंकविहीन, सबै स्थानीय तहमा बंैंकिङ सुविधा

ई आर्थिक    शुक्रबार, पौस ६ २०७५
1.8K
Shares
कर्णालीका १७ स्थानीय तह बैंकविहीन, सबै स्थानीय तहमा बंैंकिङ सुविधा

सुर्खेत, ६ पुस  : नेपाल राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा बैंकिङ सेवा विस्तार गर्न निर्देशन दिएको एक वर्ष बितिसक्दासमेत कर्णालीका १७ स्थानीय तह अझै बैंकविहीन छन् ।

सुरक्षा, विद्युत् र इन्टरनेटजस्ता आधारभूत पूर्वाधारको अभाव जनाउँदै बैंकले ती स्थानीय तहमा शाखा विस्तार नगरेका हुन् । कर्णाली प्रदेशका ७९ मध्ये हालसम्म ६२ स्थानीय तहमा मात्र बैंकका शाखा छन् ।

नेपाल राष्ट्र बैंकले तोकिएका स्थानमा आ–आफ्नो शाखा सञ्चालन गर्न सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका साथै विभिन्न निजी बैंकलाई एक वर्षअघि नै निर्देशन दिएपनि कार्यान्वयन नहुँदा सेवाग्राहीलाई जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता कायमै छ ।

राष्ट्र बैंकका निर्देशक हिमप्रसाद न्यौपानेले स्थानीय तहमा शाखा विस्तार गर्न सम्बन्धित बैंकलाई ताकेता गरिरहेको बताउनुभयो । “बैंकलाई आवश्यक पर्ने आधारभूत पूर्वाधार नहुँदा शाखा विस्तार गर्न समस्या रहेछ”, उहाँले भन्नुभयो, “हामीले पटक–पटक ताकेता गर्दासमेत बैंकले सुरक्षा, विद्युत् र इन्टरनेटको समस्या देखाएका छन् ।”

निर्देशक न्यौपानेले आगामी असार मसान्तभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकले शाखा विस्तार गर्ने जिकिर गर्नुभयो । “सरकारी कारोवारको सहजताका लागि ०७६ असार मसान्तसम्म देशभरका स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्न वाणिज्य बैंकलाई पनि निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो । राष्ट्र बैंकले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा छिट्टै आफ्नो प्रादेशिक संरचना निर्माण गर्ने जनाएको छ ।

सबै स्थानीय तहमा बंैंकिङ सुविधा

बैतडी, ६ पुस : बैतडीका सबै स्थानीय तहमा बंैंकिङ सुविधा पुगेको छ । सरकारले देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने लक्ष्य अनुसार बैतडीमा पनि बंैंकिङ सुविधा पु¥याइएको हो ।

जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिकामा कृषि विकास बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक, पञ्चेश्वर गाउँपालिकामा नबिल बैंक, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आइएमई बैंक, डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टीमेन्ट बैंक र मेलौलीमा एनसिसी बैंकका शाखा स्थापना भइसकेका छन् ।
शिवनाथ गाउँपालिकामा केही दिन अगाडि मात्रै नेपाल एसबिआई बैंकको शाखा स्थापना भएको भए पनि खाता खोल्ने काम मात्रै भइरहेको गाउँपालिकाका प्रवक्ता हजारी साउदले जानकारी दिनुभयो । खाता खोल्ने बाहेकका अन्य सेवा सुविधा केही दिनभित्रै सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा वाणिज्य बैंक लगायतका अन्य बैंकका शाखा रहेका छन्, भने पाटन नगरपालिकाका कृषि विकास बैंक लगायतका शाखा छन् । सरकारले २०७४ साउनमै देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने भने पनि बैतडीका सबै स्थानीय तहमा भने एक वर्षपछि पुगेका हुन् । बैंकका शाखा स्थापना भएसँगै स्थानीय तहका कर्मचारी जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकले सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij