२०८३ साउन ९ शनिबार

तीन महिनामा काठमाडौंमा चेक बाउन्सका एक हजार मुद्दा, सवा अर्ब रुपैयाँबराबरका ७४१ मुद्दा ‘पेन्डिङ’मा

ई आर्थिक    शनिबार, कार्तिक १० २०७५
2.9K
Shares
तीन महिनामा काठमाडौंमा चेक बाउन्सका एक हजार मुद्दा, सवा अर्ब रुपैयाँबराबरका ७४१ मुद्दा ‘पेन्डिङ’मा
टेकराज थामी, काठमाडाैं । काठमाडौंमा चेक बाउन्सका घटना अत्यधिक बढेका छन् । पछिल्ला ९० दिनमा महानगरीय प्रहरी परिसरमा चेक बाउन्सका एक हजार १७ उजुरी दर्ता भएका छन् । छोटो समयमा धेरै उजुरी परेका कारण प्रहरीले अधिकांशको अनुसन्धान गरी मुद्दा चलाउन सकेको छैन ।

प्रहरीमा परेका उजुरीमध्ये सात सय ४१ ‘पेन्डिङ’मा छन् । एक सय ६३ उजुरीमाथि मात्रै अनुसन्धान गरी मुद्दा चलाइएको छ । एक सय १३ उजुरी भने फिर्ता गरिएका छन् ।

काठमाडौं परिसर प्रमुख एसएसपी वसन्त लामाले चेक बाउन्ससम्बन्धी उजुरीको चाप अत्यधिक रहेको बताए । उनले भने, ‘चेक बाउन्सका उजुरी अत्यधिक बढेका छन् । उक्त मुद्दा अनुसन्धान गर्न प्रहरीको ठूलो शक्ति खर्च भइरहेको छ । प्राथमिकताका आधारमा ती उजुरीमाथि अनुसन्धान जारी छ ।’

पेन्डिङमा रहेका सात सय ४१ चेकमा उल्लेख गरिएको एकमुष्ट रकम झन्डै सवा अर्ब छ । पेन्डिङमा रहेका बाउन्स चेकको कुल रकम एक अर्ब १३ करोड ४१ लाख ४९ हजार एक सय ८८ रुपैयाँ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले बतायो ।

परिसरका अनुसार दैनिक १५–२० वटा चेक बाउन्ससम्बन्धी उजुरी दर्ता हुने गरेका छन् । सरदरमा एउटा चेक पाँच लाख रुपैयाँको हुन्छ । यस आधारमा एक दिनमा ७५ देखि ८० लाख रुपैयाँबराबरका चेक बाउन्सका उजुरी पर्ने गरेको परिसर प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए । प्राथमिकताका आधारमा ती उजुरीमाथि अनुसन्धान हुने गरेको पनि उनले जनाए ।

के हो चेक बाउन्स, कस्तो छ कानुन ?
बैंकिङ कसुरअन्तर्गत बैंक खातामा पर्याप्त रकम छैन भन्ने जान्दाजान्दै चेकमा रकम भरी कसैलाई दिने कार्य ‘चेक बाउन्स’ हो । बैंकिङ कसुर तथा सजय ऐन, २०७३ को परिच्छेद २ अनुसार अनधिकृत रूपमा रकम निकाल्ने वा भुक्तानी दिने, खाता खोल्ने, विद्युतीय माध्यमको प्रयोग गरी भुक्तानी लिने वा दिने कार्यलाई बैंकिङ अपराध मानिन्छ । यस्तै, कर्जाको दुरुपयोग, बैंकिङ स्रोत–साधन र सम्पत्तिको दुरुपयोग, कागजात वा खाता बही सच्याई किर्ते वा जालसाजी गर्नु पनि बैंकिङ कसुर ठहरिन्छन् ।

चेक बाउन्ससम्बन्धी मुद्दा पहिले सीधै अदालतमा पेस हुन्थ्यो । झन्झटिलो न्याय प्रणालीका कारण निकै कमले मात्रै न्याय पाउँथे । १८ असोज ०७३ देखि यस्तो मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिइएको छ । प्रहरीले उजुरी परेको व्यक्तिलाई ६० दिनसम्म हिरासतमा राख्न सक्छ । त्यसपछि मुद्दा अदालतमा पेस हुन्छ । अदालतले दोषी प्रमाणित भएको व्यक्तिलाई बिगो र बिगोबमोजिमको जरिवाना भराई तीन महिनासम्मको जेल सजाय तोक्न सक्छ ।

बाउन्स चेक काट्नेमा धेरैजसो जग्गा कारोबारी, एउटै चेक पाँच करोडसम्मको
परिसरमा परेका कतिपय उजुरीमा एउटै चेक पाँच करोड रुपैयाँसम्मका छन् । खासगरी जग्गा कारोबार तथा अनधिकृत व्यवसायमा संलग्न व्यक्तिले यस्ता चेक काट्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । परिसरको मुद्दा फाँटका प्रमुख डिएसपी मोहन थापाले भने, ‘चेक बाउन्ससम्बन्धी धेरै मुद्दा जग्गा कारोबारसँग सम्बन्धित छन् । कतिपय वैदेशिक रोजगारसँग पनि सम्बन्धित छन् । अनधिकृत तरिकाले व्यवसाय गर्नेले पनि यस्ता चेक काट्ने गरेको देखिएको छ ।’

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij