२०८३ साउन १२ मंगलबार

मुआब्जा वितरण ढिलाइले रेलमार्गको काम रोकियो

ई आर्थिक    शुक्रबार, कार्तिक ९ २०७५
3.4K
Shares
मुआब्जा वितरण ढिलाइले रेलमार्गको काम रोकियो

गणेश लम्साल, विराटनगर । विराटनगर जोडिने रेलमार्गको भारतमा पर्ने खण्ड निर्माण भइरहे पनि नेपालतर्फ भने काम अघि बढेको छैन । जग्गा अधिग्रहण र मुआब्जा वितरणमा ढिलाइ हुँदा नेपालतर्फ काम रोकिएको हो ।

रेलमार्ग बनाइरहेको भारतीय निर्माण कम्पनी इरकोणका अनुसार नेपालतर्फको १३ किमिमध्ये अहिले तीन किमि मात्र बनाइएको छ । भारततर्फ भने पाँच किमि रेलमार्ग र दुईवटा स्टेसन बनिसकेका छन् । नेपालतर्फ पर्ने १० किमि क्षेत्रको अझै जग्गा अधिग्रहण हुन सकेको छैन ।

मुआब्जा कम भएको भन्दै स्थानीयले सर्वोच्चमा मुद्दा हालेका थिए । सर्वोच्चले गत २० भदौमा फैसला गरे पनि जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छैन । रेल विभागका प्रवक्ता विश्व केसीले जग्गा अधिग्रहण प्रक्रिया चाँडै सुरु गर्ने बताए ।

उनका अनुसार नेपालतर्फ रेलमार्ग र स्टेसन बनिसक्न अझै तीन वर्ष लाग्छ । तीन किमि रेलमार्ग बने पनि उत्तरतर्फ अझै १० किमि र कटहरीमा एक स्टेसन निर्माण हुन बाँकी छ ।

भारतको प्राविधिकसहित कुल तीन अर्ब ६३ करोड रुपैयाँ सहयोगमा रेल निर्माण थालिएको हो । रेलमार्गका लागि हालसम्म दुई अर्ब ३५ करोड खर्च भइसकेको भारतीय निर्माण कम्पनी इरकोणले जनाएको छ ।

भारतको बिहार राज्यको अररिया जिल्लाको बथनाह स्टेसनबाट विराटनगरको कटहरीसम्म साढे १८ किमि लामो रेलमार्ग बन्नेछ । समस्या नभएकाले निर्माण कम्पनीले भारततर्फको भेडियारीको लावाघाट र बथनाहमा स्टेसन पनि निर्माण गरिसकेको छ ।

नेपालतर्फ रेलमार्ग नबने पनि भारतमा पर्ने रेलमार्ग बनिसकेकाले भारतीय निर्माण कम्पनी इरकोणले भारततर्फ रेल सञ्चालनको तयारी गरेको छ । इरकोणका जुनियर जनरल म्यानेजर प्रदीप कुमारका अनुसार भारततर्फ बथनाहदेखि बुधनगरको लावाघाटसम्म रेल सञ्चालनको तयारी भएको हो । बुधनगर नेपालसँग जोडिएको क्षेत्र हो ।

नेपालको पूर्वदेखि पश्चिमसम्मका पाँच नाका र औद्योगिक करिडोरअन्तर्गत हुलाकी मार्गलाई जोडने गरी रेलमार्ग निर्माण गर्न लागिएको हो । जसमध्ये तत्काल भिट्टामोडदेखि बर्दिबास र बथनाहादेखि विराटनगर रेलमार्ग निर्माण हुन थालेको हो । रेलमार्ग र स्टेसन निर्माणका लागि भारतीय परामर्शदाता कम्पनी राइट्स लिमिटेडले सन् २००६ मा सर्वे गरेको थियो । सम्झौताअनुसार २००९ जनवरीदेखि निर्माण कार्य दुवैतर्फ सुरु गरेर १०१४ भित्र सम्पन्न गर्नुपर्ने थियो ।

प्रतिकट्ठा २५ लाख मुआब्जा
अहिलेसम्म अधिग्रहण गरिएको तीन किमि क्षेत्रमा ५३ करोड मुआब्जा वितरण भएको छ । रेल विभागले प्रभावितलाई प्रतिकट्ठा २५ लाखका दरले मुआब्जा बाँडेको हो । अझै १० किमि क्षेत्रको अधिग्रहण बाँकी छ । कुल पाँच सय ६५ जग्गाधनीको एक सय १९ बिघा जग्गा अधिग्रहण हुनेछ ।

बथानाह–विराटनगर साढे १८ किमि
भारतको बिहार राज्यमा पर्ने अररिया जिल्लाको बथनाह स्टेसनबाट विराटनगरको कटहरीसम्म साढे १८ किमि रेलमार्ग बन्नेछ । त्यस्तै भारतको बथनाह र बुधनगर तथा विराटनगरको कटहरीमा गरी तीन रेल्वे स्टेसन बन्नेछन् ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij