२०८३ साउन ९ शनिबार

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकाे ९७ प्रतिशत काम सम्पन्न

ई आर्थिक    शनिबार, असोज २७ २०७५
7K
Shares
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकाे ९७ प्रतिशत काम सम्पन्न

२०७४ असार मसान्तसम्म निर्माण सम्पन्न हुनुपर्नेमा भूकम्प, तत्कालीन भारतीय नाकाबन्दी र लट–२ को हाइड्रोमेकानिकल ठेकेदारले काममा ढिलाइ गरेको भए पनि आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको छ। विभिन्न चार लटमा निर्माण सुरु गरेको आयोजनाको ९७ प्रतिशत लक्ष्य हासिल गर्दा कुल ४० अर्ब रुपैयाँ भुक्तानी भइसकेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए।

आयोजनाको लट–१ अन्तर्गतको मुख्य ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रोले सिभिलतर्फको सम्पूर्ण कार्य सम्पन्न गरेको छ भने टेलरेस सुरुङको लाइनिङ ८५ प्रतिशत सम्पन्न गरेको आयोजनाका प्रवक्ता न्यौपानेले बताए। लट–२ को हाइड्रोमेकानिकल इक्विपमेन्टअन्तर्गत भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङ कम्पनीले बाँधमा राखिने गेट, स्टप लगअन्तर्गतका कार्य ९५ प्रतिशत सम्पन्न गरेको छ।

त्यसैगरी तल्लो पेनस्टकको ढुवानी कार्य ९७ प्रतिशत सकिएको भए पनि जडान कार्य २८ प्रतिशत मात्र रहेकाले आयोजनाको समग्र प्रगतिमा ठूलो बाधा परिरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए।

लट–३ मा पर्ने इलेक्ट्रोमेकानिकलतर्फको ठेकेदार एन्ड्रिज हाइड्रोले भूमिगत विद्युत् गृहमा ६ वटा टर्वाइन तथा सातवटा ट्रान्सफर्मर जडान कार्य गरिरहेको छ। पानीको मात्रा मिलाउने एमएसओभी मेसिन पनि जडान गरिरहेको आयोजनाले जनाएको छ।

आयोजनाको लट–४ अन्तर्गत पर्ने विद्युत् प्रसारणका लागि २२०/१३२ केभीको डबल सर्किट प्रसारण लाइन भारतीय कम्पनी केईसी इन्टरनेसनल लिमिटेडले सुरु गरेको निर्माण कार्य करिब ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। केईसीले लामाबगरको गोंगरखोलादेखि खिम्तीसम्म ४७ किलोमिटर लामो प्रसारण लाइनको एक सय २७ टावरमध्ये एक सय १५ टावर निर्माण गरी २५ किलोमिटर तार टाँग्ने काम पनि सम्पन्न गरिसकेको आयोजनाका प्रवक्ता डा. न्यौपानेले जनाए।

आयोजनाबाट उत्पादित विद्युत् रामेछापको मन्थली नगरपालिका–१३, फुलासीमा निर्माणाधीन सबस्टेसनमा जडान गरिनेछ। सबस्टेसनका लागि चाहिने विभिन्न मेसिन तथा उपकरणको ढुवानी कार्य ६५ प्रतिशत सम्पन्न भएको छ भने ती मेसिन तथा उपकरणको जडान कार्य करिब २२ प्रतिशत सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ। आयोजनाको ६ वटा युनिटमध्ये पहिलो युनिटबाट पुसदेखि विद्युत् उत्पादन गर्ने गरी कार्यतालिका निर्धारण गरिएको आयोजनाले जनाएको छ।

अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij