कृष्ण रिजाल, सेनजेन (चीन) । विश्वमा चर्चित चिनियाँ ब्रान्ड हुवावेले आफ्नो उत्पादनको अनुसन्धान र विकास (आर एन्ड डी)मा मात्र वार्षिक साढे ९ अर्ब रुपैयाँ लगानी गर्छ । यो रकम आर एन्ड डीलाई खासै महत्व नदिने नेपालजस्तो मुलुकको वार्षिक बजेटको झन्डै ९० प्रतिशत रकम हो ।
हुवावेले आर एन्ड डीलाई दिएको महत्वकै कारण कम्पनीको वार्षिक आम्दानी करिब ९० खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । आफ्नो आम्दानीको १० प्रतिशत रकम कम्पनीले अनुसन्धान र विकासमा खर्च गर्ने गरेको हुवावे कन्ज्युमर बिजनेस ग्रुपका ग्लोबल प्रडक्ट मार्केटिङ प्रमुख क्लेमेन्ट वाङले बताए । ‘हुवावेको कन्ज्युमर, नेटवर्क र बिजनेससमेत सबै क्षेत्रको कुल आम्दानी वार्षिक करिब ९० अर्ब ५० करोड अमेरिकी डलरबराबर पुगेको छ,’ उनले भने, ‘यसको न्यूनतम १० प्रतिशत रकम हामी आर एन्ड डीमा लगानी गर्छौँ ।’
हालसम्म हुवावेका विश्वभर गरी १ लाख ८० हजार कर्मचारी पुगिसकेका छन् । त्यसमध्ये ८० हजार कर्मचारी अनुसन्धान र विकास (आर एन्ड डी)सँग सम्बन्धित रहेको उनले जानकरी दिए । हुवावेको चीनबाहेक विश्वका १४ मुलुकमा अनुसन्धान र विकास (आर एन्ड डी) केन्द्र रहेका छन् । जसमा १० हजार कर्मचारी कार्यरत छन् ।
त्यस्तै, ३६ वटा संयुक्त नवप्रवर्तन केन्द्र (इन्नोभेसन सेन्टर) रहेका छन् । ‘हामी अनुसन्धान र विकासलाई विशेष प्राथमिकता दिन्छौँ,’ उनले भने, ‘त्यसैले, हामीले व्यक्ति, घर र संस्थालाई जोड्ने गरी दक्ष विश्व निर्माणको नारा लिएका छौँ ।’ विश्वका एकतिहाइ जनसंख्यासँग हुवावे जोडिइसकेको उनको भनाइ छ ।
उपभोक्ताकेन्द्रित उत्पादन
हुवावेले उपभोक्तालाई केन्द्रमा राखेर उत्पादन ल्याउँदै आएको नेपालका लागि हुवावेको कन्ट्री डाइरेक्टर जोयास झुले बताए । कम्पनीले ‘इन्ड टू इन्ड प्रोसेस’मा आफ्ना उत्पादन उपभोक्तासम्म पु-याउँदै आएको छ । जसअनुसार सुरुमा अनुसन्धान गरिन्छ । त्यसपछि विकास, परीक्षण र उत्पादन हुन्छ । उत्पादनपछि त्यसको प्रतिक्रिया बुझेर मात्रै बजारमा प्रडक्ट पठाउने गरेको उनले बताए ।
हालसम्म हुवावेले ७४ हजार ३ सयभन्दा बढी पेटेन्ट दर्ता गराइसेको छ । कम्पनीले हरेक दिन ३.५ वटा पेटेन्ट राइटका लागि निवेदन दिँदै आएको उनले बताए । हुवावेले आफ्ना उत्पादनलाई अझ स्तरीय र विविधीकरण गर्न विश्वका चलेका ब्रान्डसँग साझेदारी गर्दै आएको छ । हालसम्म गुगल, माइक्रोसफ्ट, इन्टेल, लाइका, एआरएम, पोस्र्ची डिजाइन, डेड्रिमलगायत विश्वका उत्कृष्ट ब्रान्डसँग साझेदारी गर्दै आएको उनले बताए ।
नेपालमा आक्रामक बजार विस्तार योजना
हुवावेले नेपालमा कन्ज्युमर बिजनेसलाई आक्रामक बनाउने योजना बनाएको छ । करिब ५ वर्षअघिबाट नेपालको कन्ज्युमर बिजनेसमा प्रवेश गरेको हुवावेको बजार हिस्सा अपेक्षित हुन नसकेको भन्दै अब आक्रामक योजना बनाएको नेपालका लागि हुवावेको कन्ट्री डाइरेक्टर जोयास झुले बताए । ‘हाम्रा उत्पादन राम्रा छन्, तुलनात्मक रूपमा प्रतिस्पर्धी मूल्यका छन्,’ उनले भने, ‘तर, प्रडक्टवाइज हाम्रो बिक्री राम्रो भए पनि समग्रमा बजार हिस्सा सन्तोषजनक छैन ।’
नेपालमा मेट सिरिज, पी सिरिज, नोभा सिरिज, वाई सिरिजका स्मार्टफोनहरू उपलब्ध छन् । यसमध्ये नोभा र वाई सिरिजका फोन नेपालमा बढी बिक्री भइरहेका छन् । अवैध रूपमा नेपाल भित्रिने मोबाइलबाट हुवावेको बिजनेस प्रभावित भइरहेको उनको भनाइ छ । यद्यपि, नोभा सिरिजको भने नेपाली बजारमा नयाँ रेकर्ड नै रहेको उनले बताए । ‘नोभा सिरिजका फोन नेपालमा चार महिनामै ५० हजार थान बिक्री भइसकेको छ,’ उनले भने, ‘अब यिनै सिरिजलाई प्राथमिकतामा राख्दै बजार बढाउने योजना रहेको छ ।’
नयाँ पत्रिकाबाट