२०८३ साउन १० आइतबार

सङ्घीय संसद्को अधिवेशन अन्त्यः चिकित्सा विधेयक पेश भएन

ई आर्थिक    बिहिबार, असोज ११ २०७५
3.6K
Shares
सङ्घीय संसद्को अधिवेशन अन्त्यः चिकित्सा विधेयक पेश भएन

काठमाडौँ, ११ असोज : सङ्घीय संसद्को दोस्रो अधिवेशन आज राति १२ बजेदेखि समापन हुँदैछ । दोस्रो अधिवेशनमा संसद्बाट संविधानको मौलिक हक कार्यान्वयनका लागि १६ विधेयक पारित भएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठक गत वैशाख २३ गते प्रारम्भ भई आजसम्म १३५ दिन चालु रहेको संसद् सचिवालयले जनाएको छ । यसबीच ६९ दिनमा ७९ पटक बैठक बसी १९३ घण्टा २५ मिनेट संसदीय काम कारवाही भयो । गत जेठ ७ गतेदेखि असार ८ गतेसम्म संसद्को संयुक्त बैठक चार पटक बस्यो । संयुक्त अधिवेशनमा छ घण्टा ५० मिनेट संसदीय कारवाही भयो ।

पहिलो अधिवेशनमा गठित नियमावली मस्यौदा समितिले गत वैशाख २३ गते प्रस्तुत गरेको ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ माथि दफावार छलफल भई संशोधनसहित जेठ २५ गतेको बैठकबाट बहुमतले पारित भएको थियो । वैशाख २६ गते ‘आव २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश भएको थियो । यसमाथि वैशाख २७, ३० र ३१ गते छलफल भयो ।

चासोका रुपमा हेरिएको “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५”अन्ततः सदनमा पेश भएन । यसअघि सरकारले प्रा डा गोविन्द केसीसँग ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ संघीय संसद्को चालु अधिवेशनबाट पारित गर्ने सम्झौता गरेको थियो । प्रा डा केसीले सङ्घीय संसद् बैठकमा सो विधेयक पेश नभए आफू पुनः अनशन बस्ने बताउँदै आउनुभएको छ ।

राष्ट्रियसभाका पाँच विधेयक प्रमाणीकरण 

त्यसैगरी संघीय संसद्को दोस्रो अधिवेशनसँगै राष्ट्रियसभाको पहिलो बैठक गत वैशाख २३ गते प्रारम्भ भई आजसम्म १३५ दिन चालु रह्यो । सो अवधिमा सभाको बैठक बसेको ५२ दिनमा ६१ बैठक बसी ७९ घण्टा २० मिनेट संसदीय कारवाही भयो ।

दोस्रो अधिवेशन अवधिमा राष्ट्रियसभामा उत्पन्न भएका आठ विधेयकमध्ये बालबालिकासम्बन्धी विधेयक २०७५, अपराध पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक २०७५ लगायत पाँच विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन । तीमध्ये तीन विधेयक राष्ट्रियसभाबाट पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएको छ ।

त्यसैगरी अधिवेशन अवधिमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त १९ विधेयकमध्ये आर्थिक विधेयक २०७५, सामाजिक सुरक्षा विधेयक २०७५ र सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक २०७५ लगायत १८ विधेयक सभाबाट पारित गरिएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभाका विभिन्न मितिमा बसेको बैठकबाट ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’ र अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्नेसम्बन्धी व्यवस्था भएको महासन्धिलगायत पाँच सम्झौताको अनुगमन, सम्मिलन तथा स्वीकृत गर्ने कार्य भएको जानकारी दिनुभयो ।

दुवै सभाको आजको छुट्टाछुट्टै बैठकमा सभामुख कृष्णबहादुर महरा र र अध्यक्ष तिमल्सिनाले संसद्को दोस्रो अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

संविधान संशोधनको प्रस्ताव ल्याउन माग

राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा समापन मन्तव्य दिँदै उहाँले ‘टीकापुर घटना अधिकार प्राप्तिको घटना भए पनि’ निर्वाचित सांसद रेशम चौधरीलाई अहिलेसम्म प्रमाणपत्र नइिदएकामा रोष प्रकट गर्नुभयो । उहाँले चाडपर्वको मुखमा महँगी बढाएको तथा सामग्रीको अभाव र कालाबजारी नियन्त्रण गर्न नसकेको आरोप पनि लगाउनुभयो ।

निजगढ विमानस्थल निर्माण गरिँदा वातावरणमा प्रभाव नपर्ने गरी काम अघि बढाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सबै भाषाभाषीलाई सम्मान गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न आफूले संसद्मा हिन्दीमा बोल्ने गरेको नेता महतोको भनाइ थियो ।

सङ्घीय समाजवादी फोरम नेपालका रामसहाय यादवले मधेश, आदिवासी र जनजातिको आन्दोलनले सङ्घीय शासन प्रणाली स्थापना भए पनि परिवर्तन संस्थागत हुन नसकेको बताउँदै मौलिक हकसम्बन्धी ऐन कार्यान्वयनका लागि सरकार इमान्दार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

आजै अधिवेशन अन्त्य भए पनि यसपछि बस्ने अधिवेशनमा संविधान संशोधनको प्रस्ताव ल्याउन उहाँले माग गर्नुभयो । सङ्घीयताको श्रेय मधेश आन्दोलनलाई जाने बताउँदै उहाँले यसको संरक्षणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भौगोलिक अखण्डतालाई खलल पु¥याउन गरिने कुनै पनि गतिविधिमा आफ्नो दलको समर्थन नरहने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij